खुल्याे अन्नपूर्ण चक्रीय पदमार्ग, पर्यटक जान थाले

बेलिना थापा

बेसीशहर, चैत ३ गते । हिमपातले डेढ महिनादेखि अवरुद्ध विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको छ । मनाङबाट थोराङला (५,४१६ मि. उचाई) पास गरेर पर्यटक जान थालेका छन् ।

पदमार्ग खुलेसंगै पर्यटकीय चहलपहल बढेपछि व्यवसायी खुसी भएका छन् । माथिल्लो मनाङस्थित होटल तिलिचोका सञ्चालक छिरिङ लोप्साङ गुरुङले डेढ महिनादेखि पर्यटक आगमन शून्य जस्तै देखिएकोमा बाटो खुलेपछि चहलपहल बढेको बताउनुभयो । माघ ९ गतेदेखि परेको हिमपातले चक्रीय अन्नपूर्ण पदमार्गको मनाङस्थित दानाक्यूदेखि मुस्ताङको मुक्तिनाथसम्म बाटो अवरुद्ध बनाएको थियो ।

बीचमा हिमपात रोकिँदा फेब्रुअरी ४ र ५ तारिख बाहेक डेढ महिनासम्म पर्यटकले थोराङला पास नगरेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका पर्यटन सहायक क्षेत्र गुरुङले बताउनुभयो । उहाँका अनुसार सोमबार १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेका छन् । मंगलबार १६ जना पर्यटकले पास गरेको उहाँले बताउनुभयो । ‘हिमापातका कारण पदमार्गमा हिँड्न सकिदैनथ्यो । ७ फीटसम्म हिउँ थियो । कतै हिमपहिरो गएको थियो । कति पर्यटक बीच बाटोबाटै फर्किएका थिए’ उहाँले भन्नुभयो, ‘पदमार्ग खुलेको छ । पर्यटक आउन थालेका छन् ।’

एक्याप मनाङका प्रमुख बावुलाल तिरुवाका अनुसार हिमपातले अवरुद्ध चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको छ । पर्यटक आगमन हुन थालेको छ । पदमार्ग अवरुद्ध हुँदा सयौं पर्यटक फर्किएका थिए । ‘कति पर्यटक तिमाङबाट र कति चामेबाट फर्किए । कति त याकखर्क पुगेर पनि फर्किए’ उहाँले भन्नुभयो, ‘अहिले पदमार्ग खुलेको छ । बेंसीसहरदेखि चामेसम्मको सडक पनि खुलेको छ । पर्यटक आउन थालेका छन् ।’ उहाँले १६ जना युवालाई पदमार्ग खुलाउन खटाएको र सफल भएको बताउनुभयो ।

उहाँका अनुसार पर्यटकीय सिजन शुरु भएको छ । पछिल्लो एकसाताको अवधिमा मात्रै चारसय ६० जना पर्यटक मनाङ आएका थिए । केहि फर्किएका थिए । अहिले बाटो खुल्नुका साथै हिउँ पग्लन थालेपछि पर्यटक गन्तब्यमा जान थालेको उहाँले बताउनुभयो । लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुंगिन्छ । यसअघि २१ दिने यात्रामा पूरा हुने उक्त पदमार्गको मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडक पुगेपछि यात्रा छोटिएर ७ देखि १० दिनमा धेरै पर्यटकले यात्रा टुंग्याउने गरेका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *