मेरो मस्ती !  (कविता)

केले छौ यति मस्त देव कसरी पाइन्छ यस्तो सुख ?
सोध्छन् सज्जन मित्रले किन सधैं हाम्रो अँध्यारो मुख ?
के खाना कति खानुपर्छ दिनमा यस्तो उज्यालो हुन ?
हाँसी बाँच्न सकिन्छ लौ न कसरी पर्दैन कैल्यै रुन ?

आँखैमा भगवान् बसेर दुनिया लाई नियालेसरि
हेर्छौ मस्त भएर मादक नशा फ्याँक्छौ अहा के गरी !!
यस्ता प्रश्न सुनेर मित्रजनको लेख्दैछु यो उत्तर !
बुझ्नेले बुझिहाल्दछन् अबुझले बुझ्ने कुरै के छ र !

फालेको क्षणदेखि तुच्छ ‘म म’को जालो अहंकारको ।
क्यै पर्वाह रहेन दुःख सुखको या जीतको हारको !!
आफैभित्र छ यो चराचर जगत् ब्रम्हाण्डमा व्याप्त छु !
यो खाँटी अनुभूति जो छ यसमै आफू सदा मस्त छु !!

– देव भट्टराई


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *