संकलन केन्द्र र हाटबजार सञ्चालन भएपछि किसानहरु खुसी

नवीनराज कुइँकेल

बेसीशहर, चैत्र १८ गते ।

गाउँघरमै फलेको सिस्नो, कर्कलो, गुन्द्रुक, हरियो तरकारी, हस्तकलाका सामाग्री दैलोमै विक्रि विक्री गर्न पाउँदा मस्र्याङ्दी गाउँपालिकाका किसानहरु खुसी भएका छन् ।

मस्र्याङ्दी बहुउदेश्य कृषि सहकारी संस्थाले खुदीबजारमा कृषि उपज संकलन केन्द्र तथा हाटबजार सुरु गरेपछि स्थानीय किसानहरु खुसी भएका हुन् । शनिबारदेखि सुरु भएको संकलन केन्द्र तथा हाटबजारमा गाउँपालिका भित्रका किसानहरुले आफ्ना कृषि उपजहरु संकलन तथा विक्री गर्न थालेका छन् ।

बजार अभाव कृषिको प्रमुख समस्या हो र यसको सुनिश्चितताले गाउँपालिकाकै कायापलट गर्न सकिन्छ भन्ने उदाहरण दिन संकलन केन्द्र तथा हाटबजार सञ्चालन गरिएको सहकारीका अध्यक्ष वीरेन्द्र भण्डारीले बताए । घरगाउँमै उत्पादन गरेको तरकारीले बजार र उचित मूल्य पाउँदा किसानहरु खसी भएका छन् । मस्र्याङ्दी गाउँपालिका–९ का किसान मिनबहादुर कार्कीले संकलन केन्द्र र हाटबजारले किसानलाई सहज भएको बताए

संकलन केन्द्र तथा हाटबजारको शुभारम्भ गर्दै गण्डकी प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिमा व्यवसायिककरणतर्फ सबै किसानहरु लाग्नुपर्ने बताए । उनले संकलन केन्द्र तथा हाटबजारले कृषि उत्पादनको बजारीकरणमा ठुलो योेगदान दिने बताए ।

नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले कृषिमा आत्मनिर्भर बनाउन र कृषि उपज विक्रीमा विचौलियाबाट मुक्ति दिन संकलन केन्द्र र हाटबजारले राहत मिल्ने बताए । संविधानसभा सदस्य जमीन्द्रमान घलेले कृषि उत्पादनको बजार सुनिश्चित हुँदा किसानहरुलाई व्यवसायिककरणमा जान उत्प्रेरणा मिल्ने बताए ।

विगतमा आफूले उत्पादन गरेका कृषिजन्य उत्पादनले बजार नपाउँदा उनलाई ‘खिन्न’ महसुस हुन्थ्यो । कृषि तथा पशु हाटबजार तथा संकलन केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको बजार सुनिश्चित भएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

संकलन केन्द्रमा हरियो तरकारी, खुर्सानाी, बनमा पाइने कुरिलो, निउरो, खसीबोका, लोकल कुखुरा, हस्तकलका सामाग्रीहरु डोकानाम्ला, झोला, स्याखु, राडीपाखी, ऊनका कपडा, बख्खुलगायतका सामाग्रीहरु संकलन तथा विक्री गरिने सहकारीका अध्यक्ष भण्डारीले बताए ।

‘हाटबजारमा गुन्द्रुक, सिस्नो, कर्कलो, निउरो जस्ता चीजविज विक्रि हुन्छर भन्ने लागेको थियो’, मस्र्याङ्दी–७ उस्ताकी किसान मुना गुरुङले भनिन, ‘पहिले उत्पादन गरेको चीज बढी भए के गर्ने भन्ने चिन्ता थियो हाटबजार सञ्चालन भएदेखिसजिलै विक्रि भएको छ ।’ गाउँको उत्पादन ताजा हुने भएकाले ग्राहकहरु आकर्षित भएका छन् ।

संकलन केन्द्रमा कृषि उत्पादनको दैनिक संकलन गर्ने ब्यवस्जथा मिलाइएको छ । हाटबजार महिनाको एक दिन सञ्चालने गरिने सहकारीले जनाएको छ । संकलन केन्द्र तथा हाटबजार सञ्चालनका मस्र्याङ्दी गाउँपालिकाले १४ लाख रुपियाँमा भवन निर्माण तथा फर्निसिङ व्यवस्थापन गरेको छ । सो सहकारीमा गाउँपालिका भित्रका सबै नागरिकहरुलाई शेयर सदस्य बनाएर अघि बढ्ने योजना बनाइएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए ।

‘स्थानीय उत्पादनको बजारीकरण गर्ने हेतुले नै खत्रीठाँटीमा हाटबजार सञ्चालनमा ल्याईएको हो,’ सहकारीका सचिव रवि थापाले भने । हाटबजार सञ्चालनमा आएपछि स्थानीय व्यावसायिक किसानहरु हर्षित भएको उनले बताए ।

‘कृषि तथा पशुजन्य उत्पादनले बजार नपाउँदा समस्या थियो । उत्पादित उपज कहाँ लगेर बेचौँ ? भन्ने चिन्ता थियो । हाटबजार सञ्चालनमा आउँदा खुसी छौँ’, मस्र्याङ्दी कृषि फार्मका सञ्चालक सुदिप अधिकारीले भने ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *