विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

 

बेलिना थापा

लमजुङ, चैत २७ गते ।

बेलायती संस्था क्यान (CAIRN) ट्रष्ट युके र साथी नेपालले लमजुङका चार विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

क्यान ट्रष्ट युकेमार्फत आएको सहयोगलाई साथी नेपालले मस्र्याङदी गाउँपालिका ९, सिम्पानी क्षेत्रका ४ विद्यालयमा वितरण गरेको हो । बेलायतमा च्यारिटी सो गरी संकलित रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिए । मस्र्याङदी गाउँपालिका ९ स्थित गणेश मावि सिम्पानी, सरस्वती सदन आधारभूत विद्यालय पामचोक, अरण्यज्योति आधारभूत विद्यालय लामागाउँ र सूर्यज्योति आधारभूत विद्यालय महतथोकका ६२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री दिइएको हो ।

गणेश मावि सिम्पानीमा एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग हस्तान्तरण गरिएको साथी नेपालका कार्यकारी संयोजक लक्ष्मी कुवँरले बताए । उनका अनुसार विद्यार्थीलाई विद्यालय पोशाक, झोला, स्वीटर, जुत्ता, कापी, कलम, ग्राफ पेपरलगायत सहयोग गरिएको हो ।  क्यान ट्रष्ट युेकेका अध्यक्ष बेम थोमस (Bem Thomas), प्रतिनिधि लिज उडकट, याम ग्रिफिथ, मर्स्याङदी गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्मा, वडा नम्बर ९ का अध्यक्ष नारायणबहादुर थापा, गणेश मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर भण्डारीलगायतले शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।

यस्तै, यसबर्ष एसईई दिएर बसेका २२ जना विद्यार्थीलाई समेत सम्मान गरिएको छ । क्यान ट्रष्ट युके र साथी नेपालले सन् २००९ देखि सिम्पानी क्षेत्रका ४ विद्यालयमा सहयोग गर्दै आएको छ । बर्षको २ पटक सहयोग हस्तान्तरण गरिँदै आएको साथी नेपालका कार्यकारी संयोजक कुवँरले बताए । उनले भने–‘जो विद्यार्थी आर्थिक अभावका कारण विद्यालय जानबाट बञ्चित छन्, उनीहरुलाई हामीले खोज्छौं र सहयोग गर्छौं । बेलायतमा संकलन भएको रकमबाट उनीहरुलाई शैक्षिक सामाग्री दिन्छौं । यो सहयोगले विद्यार्थीमा पठनपाठनमा सहज पुग्छ भन्ने सोँचेका छौं ।’

मस्र्याङदी गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्माले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि संघसंस्थाको सहयोग खाँचो रहेको बताए । हरेक बालबालिकालाई विद्यालयसम्म पु¥याउन स्थानीय सरकारले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी उनले दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *