लमजुङ उद्योग वाणिज्य संघद्धारा प्रजिअ भट्टराईकाे स्वागत

बेलिना थापा

बेसीशहर, चैत २७ ।

लमजुङ उद्योग वाणिज्य संघद्धारा प्रजिअ भट्टराईलाई स्वागत तथा सम्मान, व्यापार व्यवसायको प्रवद्र्धनबाट देश समृद्ध बन्ने भट्टराईको भनाई

लमजुङमा एक हप्ताअघि गृह मन्त्रालयबाट आउनुभएका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईलाई लमजुङ उद्योग बाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ ।

संघले आफ्नै सभाहलमा सोमबार स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरी प्रजिअ भट्टराईलाई स्वागत गरेको हो । कार्यक्रम संघका अध्यक्ष राजेश थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्वागत गर्दै अध्यक्ष थापाले संस्थाको बारेमा जानकारी गराएका थिए । उनले प्रशासनसंग सहकार्य गर्दै आएको र आगामि दिनका पनि सहकार्यका साथ जिल्लाको विकासमा लाग्ने बताए । उनले प्रजिअ भट्टराईलाई जनताको सेवा छिटोछरितो रुपमा गर्न अनुरोध गरे ।

बजारमा बाहिर जिल्लाबाट आएका ट्रकले बिल विनै सामान विक्रि गर्ने गरेको भन्दै यसको अनुगमनमा प्रशासनले ध्यान दिनुपर्ने उनले बताए । संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठले जिल्ला पर्यटकीय सम्भावना रहेको र यसको थप पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको चर्चा गरे । बजार व्यवस्थित बनाउका लागि प्रशासनसंग हातेमालो गरेर अघि बढ्न संघ तयार रहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले सुखी नेपाली समृद्ध नेपालको नारा सफल बनाउन उत्पादनमा जोड दिनुपर्ने बताए । उत्पादन बढाई ब्यापार, व्यवसाय प्रवद्र्धन गर्न सके समृद्धि हासिल गर्न सकिने उनकाे भनाइ थियाे । व्यवसायीलाई हप्काउने, थर्काउने गर्दै चन्दा संकलन गर्नेहरु भेटिएको खण्डमा कारबाही गर्ने उनले अाश्वासन दिए । व्यवसायीलाई त्यस्ता व्यक्तिसंग नडराउन अनुरोध गर्दै प्रशासनले व्यवसायीको सुरक्षा दिने उनले बताए ।

कार्यक्रमको समापन लमजुङ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष गुणराज सिलवालले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव कृष्णजङ गुरुङले गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *