दुराडाँडाकाे एेतिहासिक शान र पहिचान जाेगाउन दुराडाँडा महाेत्सव हुँदै

बेसीशहर, चैत २८ गते ।

शैक्षिक, सामाजिक, आर्थिक उत्थान एवं पर्यापर्यटन, जाेगाऔं दुराडाँडाको ऐतिहासिक शान र पहिचान भन्ने नाराका साथ आउँदो नयाँ बर्षमा प्रथम दुराडाँडा महोत्सव आयोजना गरिएको छ ।
दुराडाँडा सेवा समाज काठमाण्डौं, दुरा सेवा समाज, सुन्दरबजार नगरपालिका वडा नंं ३, ४, १० र ११, बेसीशहर नगरपालिकाको वडा नं. ४ र मध्यनेपाल नगरपालिकाको वडा नंं ११ को संयुक्त आयोजनामा बैशाख १ देखि ३ गतेसम्म दुराडाँडामा महोत्सव हुन लागेकोे हो ।
नेपालभरिमै सामाजिक, सांस्कृतिक र शैक्षिक क्रान्तिको थालनी भएको मानिने दुराडाँडाको शानलाई जोगाउँदै त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
दुराडाँडा अन्तर्गत साविकका दुराडाँडा, चन्दे्रश्वर, धुसेनी, पुरानोकोट, सिन्दुरे र नेटा गाविस पर्दछन् । यी गाविसहरु अहिले बेसीशहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा परेका छन् ।
दुराडाँडा क्षेत्रका ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गर्ने, दुराडाँडाबासी बीच विद्यमान सामाजिक एकताको भावनालाई मजबुत बनाउने, ग्रामीण पर्यटन, पर्यापर्यटन, खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवले राखेको छ ।
महोत्सवमार्फत दुरालगायत सबै जातजातिको भाषा, संस्कृति एवं स्थानीय लोक कला, लोकलय, धार्मिक अनुष्ठानको संरक्षण सम्बद्र्धन, एवं प्रवद्र्धन गर्ने, दुराडाँडाको समग्र विकासको लागि स्थानीय कृषक र कृषि फार्महरुको संलग्नतामा कृषि उपजहरुको प्रदर्शन र प्रवद्र्धन गर्ने र दुराडाँडामा जन्मेर राष्ट्रको ऐतिहासिक, शैक्षिक, सांस्कृति तथा सामाजिक क्षेत्रमा समर्पित युग पुरुषहरुको योगदानबारे नयाँ पुस्तालाई अवगत गराउने लक्ष्य राखिएको छ ।
समृद्ध दुराडाँडा निर्माका लागि दुराडाँडाबासीहरु हातेमालो गर्दै अगाडि बढ्ने वातावरण निर्माण गर्न र दुराडाँडाको ऐतिहासिक पहिचान शान र मानलाई जीवन्त राख्न पुनर्जागरणको विजारोपण गर्न महोत्सव सफल हुने विश्वास गरिएको छ ।
महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नेछन् । महोत्सवका अवसरमा देशभर छरिएर विभिन्न पेशा ब्यवसायमा आवद्ध दुराडाँडा क्षेत्रका नेताहरु, विद्वान, कर्मचारी, भूतपूर्व सैनिक, सामाजिक अभियान्ताहरु जम्मा भइ दुराडाँडाको समग्र विकासमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
महोत्सवमा त्यस क्षेत्रको विकासका सम्भावनाबारे विज्ञहरु राखेर अन्तरक्रिया, छलफल गरिने छ ।
महोत्सवकै अवसर पारेर दुराडाँडाको तुर्लुङकोटमा दुरा सेवा समाजको महाधिवेशन पनि आयोजना गरिएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *