गाउँशहरकाे लमजुङ कालिका मन्दिरमा चैतदशैंकाे भब्य मेला

शान्ता कमली
लमजुङ ३० चैत

लमजुङ जिल्लाको बेसीसहर नगरपालिका ३ गाउँशहरस्थित लमजुङ कालिका मन्दिरमा चैत दशैकोे अवसरमा पूजाआज गरिएको छ । चैत प्रतिपदा देखि मन्दिरमा धार्मिक विधि अनुसार पुजा हुँदै आएकोमा अष्टमीको दिन पुजाआजा गर्दै धार्मिक मेलाको आयोजना गरिएको हो ।
प्रतिपदा देखि हरेकदिन नित्यपुजा गरिने चलन रहेको र अष्टमीका दिन पञ्चेबाजा सहित पुजा गरि फूलप्रसाद चढाउँदै वली र पञ्चवली समेत दिईएको छ । पुजाका अवसरमा १९ वटा सरकारी वलीसहित हजार वढी विभिन्न भाकल वली चढाईएको मुल पुरोहित माधव वरालले बताए । देशका विभिन्न ठाउँबाट पनि पञ्चवली आएको थियो । सर्वसाधारण सँगै सरकारको तर्फबाट पनि मन्दिरमा वलि चढाउने प्रचलन रहेको मालपोत कार्यालय लमजुङका प्रमुख हरीहर दाहालले बताए । देशमा शान्ति छाओस् र सर्वसाधरणमा अमनचयन कायम होस् भन्ने कामनाका साथ पुजागर्ने गरिएको उनले बताएका छन् । त्यस्तै, सर्वसाधरणले पनि आ–आफ्नो घर परिवारमा सुखशान्ति होस्, परिवारका सदस्यमा सु–स्वास्थ्य, जनावर तथा बालीनाली राम्रो होस् भन्ने मनोकाँक्षले भाकल गर्दै पुजा गर्ने गरिएको बराल बताउँछन् । आफुले चाहे अनुरुप मनोकाँक्ष पुरा हुने भएकाले आफुले मन्दिरमा पञ्चवली चढाएको सुन्दरबजारका कृष्ण कुवंरले बताए ।
बेसीसहर, सुन्दरबजार, मध्यनेपाल, राईनास नगरपालिका, मस्र्याङ्दी, क्व्होलासोथर, दोर्दी र दुधपोखरी गाउँपालिका र जिल्ला बाहिरका भक्तालु तथा दर्शनार्थीको सहभागिता रहेको थियो । विशेष गरी बेसीसहरबजार, चण्डीस्थान, बाँझाखेत, डिहीथोक, साम्दी, गाउँसहर, उदीपुर, पुरानकोट, नाल्मा, चिती, हिलेटक्सार, खुदी, भुलभुले, सिम्पानी क्षेत्रबाट वर्षेनी ठुलो संख्यामा भक्तालु तथा श्रद्धालुहरु आउने गरेको पुजारी बालकृष्ण बराल बताउँछन् । नित्यपुजा दैनिक रुपमा हुने र चैतेदशैं, वडादशैं, न्वागी र श्रीपञ्चमीमा विशेष पूजा हुने उनको भनाई छ । वडादशैं, चैतेदशैं, न्वागी र श्रीपञ्चमीमा भक्तजनले पूजा कोठामा नै पूजागर्ने र अन्य समयमा बाहिर मूलढोकामा नियमित पूजा गरिने पुजारीहरु बताउँछन् । बेसीसहर–गाउँसहर आसपासका बासिन्दामा कालिका मन्दिर प्रति निकै आस्था रहेकाले घरमा सुख–दुःख जस्तो अवस्थामा पनि भाकल दिने चलन रहेको बेसीसहर नगर कार्यपालिका सदस्य एवं गाउँसहरका स्थानीयबासी अजय मजाकोटी बताउँछन् । कसैलाई आपत–विपद् परेमा कालिका भाक्ने र आँटे ताकेको काम पुरा भएपछि पनि कालिकालाई फूल प्रसाद र वलि चढाउने चलन रहेको उनले बताए ।
गाउँसहर धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रुपमा चिनिएकाले पछिल्लो समयमा पुजाआजा गर्नुका साथै घुमफिर गर्ने उद्देश्यले पनि ठूलो संख्यामा मानिसहरु जाने गरेका छन् । लमजुङ दरबार, कालिका मन्दिर, नेपालकै उत्कृष्ट होमस्टे गाउँ काउलेपानी, काउलेपानी देवी, पुरानकोट गढी, दलित समुदायमा होमस्टे, दलित समुदायमा निर्मित जातिय तथा शिल्पी संग्रहालय लगायतका स्थान अवलोकनका लागि पर्यटकहरु पुग्ने गरेको काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङ बताउँछन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *