मनाङः विश्वभरका प्रकृतिप्रेमीहरुको रोजाईको गन्तव्य

शान्ता कमली
लमजुङ ५ फागुन
पर्यटकहरुको मन लोभ्याउने प्राकृतिक पर्दा हो मनाङ । चारैतर्फ चाँदीजस्ता हिमाललाई साक्षी राखेर बीचमा बसेको मनाङ विश्वभरका प्रकृतिप्रेमीहरुको रोजाईको गन्तव्य हो । प्रकृतिको यही अनुपम उपहारले नेपालको नाममा थप सुवास मात्र छरेको छैन, हरेक मानिसले एक पटक पुग्नै पर्ने परिचयको प्रख्याती पनि पाएको छ । विहान उठ्दा आँखैमा ठोक्किने सेता हिमाल मात्र नभई आँगनमा फल्ने रसिलो स्याउ, विश्वविख्यात पदयात्रा राउण्ड अन्नपूर्णको मुटु र प्राकृतिक जडिबुटीहरुको अमूल्य भण्डार पनि हो– मनाङ ।


यही आकर्षणका कारण हिमाली जिल्ला मनाङमा बार्षिकरुपमा स्वदेशी तथा विदेशी हजारौं पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार मनाङमा मोटर चल्न थालेपछि आन्तरिक पर्यटकहरुको आगमनमा उत्साहजनक बृद्धि भएको छ । मनाङमा अवस्थित तिलिचो ताल र थोराङ पास गर्ने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ, तिरुवा भन्छन्,विदेशी पर्यटकलाई मात्रै पर्यटक भनेर स्वागत सम्मान गर्ने परम्पराको अन्त्य भएको छ । एकपटक घुम्न आउनेलाई बारम्बार आउन वाध्य पार्नु मनाङको विशेषता हो । न हेरेर मन अघाउँछ, न घुमेर थाकिन्छ,मनाङका पर्यटन व्यावसायी विनोद गुरुङ भन्छन्,मनाङ प्रकृतिको अनुपम भण्डार हो । प्राकृतिक छटाले भरिपुर्ण हिमालको काखमा अवस्थित यस जिल्लामा अग्ला भिराला पहाड र उच्च हिमश्रृंखलाले लाखांै स्वदेशी तथा विदेशी पर्यटकको मन जित्दै आएका छन् । बहुमुल्य जडिबुटी यार्सागुम्ब, वनसम्पदा, जलश्रोत र जौविक विविधता मनाङका थप विशेषता हुन् ।


विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल तथा अन्य असंख्य कुण्ड एवं स–साना तालले पनि मनाङलाई प्राकृतिकरुपमा धनी बनाएका छन् । पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष भन्छन्, मनाङ र अन्नपूर्ण पदमार्गले नेपाललाई आज विश्वभर चिनाएका छन् । सदरमुकाम चामेलाई केन्द्र मान्दा भौगोलिक हिसाबले मनाङलाई तीन भागमा विभाजन गर्न सकिन्छ । मनाङ भनेर पहिचान भएको निस्याङ उपत्यकामा पिसाङ, घ्यारु, ङावल, भ्राका, टंकी मनाङ र खाङसार पर्छन् । पर्यटकहरूका लागि दृष्यावलोकन गर्ने मनाङ गुम्वा, भ्राका गुम्वा, केरापगोम धार्जे, मिलेरेपा गुम्वा, याकखर्क र घले राजाको दरवार यही क्षेत्रमा पर्छन् । ५ हजार ४ सय १६ मिटरको उचाइमा अवस्थित थोराङ भञ्ज्याङ र मेसाकान्ता पासको पहाड पनि यही उपत्यकाको टंकी मनाङ र खाङसारमा पर्छन् । यहाँका गुम्वाहरु विश्वकै बौद्ध समुदायका लागि अध्ययन केन्द्रकारुपमा स्थापित छन् । जिल्लाको तल्लो भागमा रहेका ताचैं बगरछाप, थोंचे र धारापानी पनि मनोरमताले भरिपुर्ण छन् । गोरखा जिल्लाको सामागाँउ हुँदै लार्केबाट तथा कास्की जिल्लाको सिक्लेस गाउँको जंगल हुँदै तिमाङ भएर मनाङ जान सकिन्छ । मुस्ताङ जिल्लाको मुक्तिनाथ हुँदै थोराङ्पास भएर पनि मनाङ पुग्न सकिन्छ । लमजुङको बेसिशहर हुँदै मस्र्याङ्दीको तिरतिरैलाई मनाङ जाने सबैभन्दा सुगम बाटो मानिन्छ ।मनाङका विशेषता अनेक छन् । मन्दमन्द बतासले पर्यटकलाई मिठो चुम्बन गरिदिन्छ ।

फुस्फुसाउने हिँउले अँगालो मार्न आउँदा हरेक व्यक्ति रोमाञ्चित बनेर रमाउने गर्छन । भीर, पहरा, ताल, झरना र कलकल बग्ने खोलाको सुसेलीले हरबखत डाकिरहन्छ । हुन पनि स्वर्गको एउटा टुक्रा पृथ्वीमा आएर बास मागेजस्तो गरी बसेको छ मनाङ । जसले यहाँ पुग्ने हरेकलाई स्वर्गीय आनन्दको अनुभूति दिलाउँछ । चाहेजस्तो खेतीपाती नहुने यो जिल्लामा चम्केको व्यवसाय नै पर्यटन हो, स्थानिय अस्मीता गुरुङ भन्छीन् अन्नपुर्ण पदमार्ग परेकै कारण यहाँ बर्षेनि हजारौं पर्यटक आउँछन् । तिनै पर्यटकलाई सेवा दिएर आम्दानी गर्न सकिएको छ । लमजुङ सदरमुकाम बेसीसहरबाट सुरु हुने पदमार्गको सबैभन्दा रोमाञ्चक बिन्दु हो– थोराङ भन्ज्याङ ।
लमजुङको बेसीशहर हुँदै दैनिक सयौं पर्यटकहरू मनाङका हिमश्रृंखलाको दृष्यावलोकन गर्दै थोराङ भञ्ज्याङको बाटो मुक्तिनाथ जाने गरेका छन् । पदमार्गमा आएका स्वदेशी तथा विदेशी पर्यटकले एकपटक लमजुङका पर्यटकीय गाउँ घुम्ने गरेको लमजुङ उद्योग वाणिज्य संघका राजेश थापा बताउँछन् । चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा काठमाडौं वा पोखरादेखि सुरु हुन्छ । काठमाडौं वा पोखराबाट पहिलो दिन पर्यटक लमजुङको बेंसीसहर बास बस्छन् । त्यसपछि खुदी, बाहुनडाँडा, जगत, धारापानी हुँदै छैटौँ दिनमा चामे पुग्छन् । चामे, पिसाङ हुँदै नवौँ दिनमा मनाङ पुगेपछि उनीहरू एकदिन विश्राम लिन्छन्। त्यसपछि लेदर हुँदै ११ औँ दिनमा थोराङफेदी पुग्छन् । १२ औँ दिनमा थोराङला भञ्ज्याङ पास गरेर उनीहरू मुक्तिनाथ पुग्छन् ।
पर्यटक लोभ्याउँदै मनाङका हिमाल

मौसम खुलेका हिउँदका दिनहरू चारैतिर दन्तलहरझैं हिमाल टलक्क देखिन्छन्। सूर्योदयको समयमा सेता टाँकुरामा देखिने बिहानी किरण । संसारकै अग्लो ५ हजार ४ सय १६ मिटर उचाइको हिमाली भन्ज्याङ थोराङ्ला चढ्न थोराङ फेदी उक्लँदै गर्दा पर्यटकले चारैतिर हिमाल देख्छन् । उनीहरू संसारकै सुन्दर ठाउँमा पुगेको आभाष गर्छन् । ५ देखि ६ घण्टाको उकालो चढेपछि थोराङ्ला पुग्नेबित्तिकै एकअर्कामा अंकमाल गर्छन् । खुसीले रुन्छन् अनि एकअर्काको आँसु पुच्छन्। उनीहरू आफैंलाई भाग्यमानी ठान्छन,’ पर्यटक पथप्रदर्शक युवराज अधिकारीले भने, ‘ट्रेकिङमा आउने उनीहरूका लागि यो ठूलो सफलता हो। पदयात्राको सौखिनका लागि थोराङ्ला चढ्नु प्रतिष्ठाको विषय हो।’ उनका अनुसार पदमार्गमा आउने पर्यटकको एउटै उद्देश्य हुन्छ, हिमाल हेर्ने र पदमार्गको अग्लो भन्ज्याङ थोराङ्ला पास गर्ने । एक्याप मनाङको धारापानी चेकपोस्टका अनुसार सन २०१७ मा २७ हजार ६८ पर्यटकले मनाङ बाटो भएर चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए । सन् २०१८ मा २८ हजार ५ सय ३४ पर्यटक भित्रिसकेको धारापानी चेकपोस्टकी पर्यटन सहायक सोमी गुरुङले बताइन । चक्रीय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि विदेशी पर्यटकलाई सन १९७७ बाट खुला गरिएको हो । १९९६ देखि एक्यापले चक्रीय अन्नपूर्ण पदयात्रामा आउने विदेशी पर्यटकको तथ्यांक राख्न थालेको हो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *