विदेश पलायन र बसाइँसराई रोक्न लमजुङकाे ताँजेमा होमस्टे शुरू

शान्ता कमली
लमजुङ ६ बैशाख ।
पछिल्लो समय रोजगारीको लागि युवा विदेश पलायनको क्रम दिनानुदिन बढ्दो छ । विदेशीएका र बसाईसराइलाई रोक्न लमजुङको दोर्दी गाउँपालिका ६ ताँजेमा होमस्टे सञ्चालन गरिएको छ । ५५ घरधुरी रहेको ताँजेमा युवाहरुकै सक्रियता होमस्टे सञ्चालन गरिएको हो । गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सञ्चालन भएसँगै ताँजेका युवाहरु गाउँ फर्किएका छन् । प्रकृतिको बरदान पाएको ताँजे गाउँबाट बसाईसराँई र युवा पलायनको क्रम बढेपछि स्थानीयहरु होमस्टेको अभियानमा जुटेका हुन् ।

सुरुमा गाउँको ३ घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालनमा स्थानीय आमा समुहले युवाहरुलाई साथ दिएको ताँजे होमस्टे व्यवस्थापनका अध्यक्ष एवम् होमस्टेका अभियन्ता टकलाल घले बताउँछन् । अध्यक्ष घलेले भने युवा पलायनका कारण हिजोआज ग्रामिण बस्ती बिस्तारै युवाविहिन बन्ने क्रम बढ्दो छ । यसलाई रोक्न गाउँमै स्वरोजगार बन्न होमस्टे सञ्चालन गरिएको हो । ताँजे गाउँमा घले, गुरुङ , तामाङ र दलित वस्ती रहेको छ । गाउँमा सडक निर्माणसँगै पर्यटकको आगमन बढ्न थालेपछि ५४ मेगावाट क्षमताको सुपर दोर्दी–ख जलविद्युत आयोजनाले पनि युवाको अभियानमा साथ दिएको छ ।
होमस्टेको मंगलबार गण्डकी प्रदेश साँसद धनन्जय दवाडीले उद्घाटन गरे ।

होमस्टेको उद्घाटन गरदै साँसद दवाडीले प्रदेश सरकारले प्रदेशका तीन सय गाउँमा होमस्टे सञ्चालन गर्ने अभियानसँगै विभीन्न गाउँमा होमस्टे सञ्चालन गरिएको बताए । दवाडीले ग्रामिण पर्यटनका दृष्टिले आफ्नो प्रदेशका सयौं गाउँवस्तीहरु प्रचुर संभावनाले भरिएको र ति सबै गाउँमा आवश्यक विकास गर्दै पर्यटकीय गाउँ बनाउने बताए । हाम्रा सयौं गाउँवस्तीहरुबाट हिमाल, पहाड र उपत्यकाका मनोरम् दृश्यहरु देख्न सकिन्छ,’ उनले भने होमस्टेलाई निरन्तरता दिन युवा वर्गको महत्वपुर्ण भुमीका छ । त्यस्तै संविभान सभा सदस्य जमिन्द्रमान घलेले गाउँलाई समृद्धिसँग जोड्न आवश्यक रहेको बताए । उनले भने होमस्टेलाई प्रर्वद्धन गर्न स्थानिय तहको महत्वपुर्ण भुमीका हुन्छ स्थानियले स्थानिय तहसँग समन्वय गरी काम गर्नुपर्छ ।
होमस्टेमा मार्सीे चामल र दुर्लभ कालोभट्टमासको स्वाद
हिमचुली हिमालको काखमा रहेको मनोरम पर्यटकिय गाउँ ताँजेमा उत्पादन हुने अर्गानिक खानेकुराले यहाँसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित पार्ने गरेको छ । गाउँमै बसेर जलविद्युत आयोजनामा रोजगारी पाउने र होमस्टे संचालन गर्न पाउने भएपछि गाउँ फर्कने युवाहरुको क्रम पनि बढ्दो रहेको स्थानिय मेखमायाँ घले बताउँछन् । उनका अनुसार स्थानीयले गाउँमा उत्पादन हुने दुर्लभ कालो भट्टमास, गाउँमै उत्पादित तरकारी, लोकल कुखुरा, लोकल मार्सी चामलको भात र कोदोको परिकारले होमस्टेमा आउने पर्यटकलाई स्वागत गर्ने होमस्टे सञ्चालक मेख कुमारी घले बताउछिन् ।
युवालाई गाउँ फर्काउने अभियानमा गाउँपालिका
आन्तरिक तथा बाह्य पर्यटकका अलवा आफ्नै गाउँ छोडेर सहर वा विदेश भासिएकाहरूलाई पनि गाउँ फर्काउने अभियानमा दोर्दी गाउँपालिका लागेको छ । गाउँपालिकाले होमस्टेका साथै युवा लक्षित कार्यक्रम संचालन गरेपछि स्थानीय युवाहरु हौसिन थालेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ बताउँछन् ।
सरकारको लक्ष्यलाई साथ दिदै ताँजेवासी


स्थानीय प्रोमु झरना, स्थानीय कला संस्कृति, भेषभुषा र अर्गानिक उत्पादन देखाएर २० लाख पर्यटक भित्र्याउने सरकारी प्रयासमा साथ दिने ताँजेबासीको योजना छ । न्यानो आतिथ्यताका माध्यमबाट गाउँको परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गर्ने सुपर दोर्दी आयोजनाका निर्देशक अर्जुन गौतम बताउँछन् । होमस्टे अभियानमा साथ दिदैं आएको जलविद्युत आयोजनाले स्थानीय आमा समुहकोे भवन समेत निर्माण गरिदिएको छ । जिप वा बसमा सदरमुकाम बेसीशहरबाट उदिपुर, नौथर, हिले, किर्तिपुर, सिमी हुँदै २ घण्टामा गाउँमा पुगिन्छ । गाउँ हुँदै हिमचुली हिमाल, मेमेपोखरी, गोरखा र लमजुङको सिमानामा रहेको दूधपोखरी पुग्न सकिन्छ ।
पर्यटनको मोह होटलभन्दा होमस्टेमा धेरै
जिल्लामा पर्यटनको मोह होटलभन्दा होमस्टेमा देखिएको छ । जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि पर्यटकहरु यसमा आकर्षित भएका छन् । पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्न थालेका छन् । अन्नपूर्ण पदयात्रा गर्ने पर्यटकका लागि प्रवेशद्वारको रुपमा रहेको लमजुङमा आन्तरिक र बाह्य पर्यटक समान रुपमा आउने गरेका छन् । जिल्लाका घलेगाउँ, गाउँसहर काउलेपानी, घनपोखरा, नरुवाल, भुजङ, पसगाउँ, गिलुङ, सिउरुङ, खासुर, गहते, हिलेटक्सार, राइनास, ताघ्रिङको छापा, मिप्रा, सिंदुरे, पुरानकोट लगायतका एक दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालित छन् । ग्रामिण भेगमा होमस्टेको प्रचलन बढ्दो छ । स्थानिय पर्यटन प्रवद्र्धनमा यसले राम्रो सहयोग पनि पु¥याउँदै आएको छ । व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे राम्रो विकल्प हो ।

तस्वीरहरूः शान्ता कमली


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *