खुल्ला ब्याडमिण्टन प्रतियोगिताको उपाधि बेसीशहरका श्रेष्ठ दाजुभाइलाइ

बेसीशहर, बैशाख १४ गते ।

युमिका स्पोर्टस् हाउसले बेसीशहरमा सञ्चालन गरेको प्रथम युमिका स्पोर्टस् हाउस जिल्लाब्यापी खुल्ला ब्याडमिण्टन प्रतियोगिताको उपाधि बेसीशहरका श्रेष्ठ दाजुभाइले जितेका छन् ।
शनिबार बेसीशहरको फूलबारी मञ्चमा आयोजना भएको प्रतियोगिताको फाइनलमा सुन्दरबजारका मनवीर गुरुङ र सुविन खड्काको जोडीलाई सोझो सेटमा पराजित गर्दै बेसीशहरका सुरेश श्रेष्ठ र सुमेश श्रेष्ठले उपाधि जितेका छन् ।
अघिल्ला खेलहरु हेर्दा उपाधि सुन्दरबजार जाने धेरैको अड्कलबाजी भइरहेकै बेला श्रेष्ठ दाजुभाइले रोमाञ्चक जीत हात पारेका हुन् । फाइनल प्रतियोगितामा श्रेष्ठ दाजुभाइले मनवीर र सुविनको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा आरामले पराजित गरेका थिए ।

सेमीफाइनलमा आक्रामक खेल खेलेर विनोद तामाङ र प्रल्हाद बोहराको जोडीलाई पराजित गरेका मनवीर सुविनले श्रेष्ठ दाजुभाइलाई कमजोर आँकेका थिए । तर सेमीफाइनलमा भोटेओडारका दीपक र रोहितको जोडीलाई पराजित गरेका सुरेश सुमेशको जोडीको राम्रो तारतम्यले उनीहरुलाई निराश बनायो ।
प्रतियोगिता जितेपछि श्रेष्ठ दाजुभाइले स्वर्णपदक, कप र प्रमाणपत्रसहित नगद १० हजार पुरस्कार जिते । दोस्रो स्थानमा चित्त बुझाएको मनवीर र सुविनको जोडीले रजत पदक, कप र प्रमाणपत्रको साथमा नगद ५ हजार पुरस्कार पाए ।
प्रतियोगितामा बेसीशहरका विनोद तामाङ र प्रल्हाद बोहरा तथा भोटेओडारका दीपक र रोहितको जोडीले सान्त्वना पुरस्कार प्राप्त गरे ।
बेसीशहर, भोटेओडार, सुन्दरबजार, खुदीलगायतका स्थानका २६ वटा टीमले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
बेसीशहरमा युमिका स्पोर्टस् हाउस सञ्चालन गर्दै आएका विनोद तामाङले प्रतियोगिता सञ्चालन गरेका हुन् । आफै ब्याडमिण्टनको खेलाडी रहेका विनोदले खेलको विकासका लागि आफूले प्रतियोगिता सञ्चालन गरेको जानकारी दिए ।
प्रतियोगिताको शुक्रबार मस्र्याङदी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापाले उद्घाटन गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *