आमा ( कविता )

_देव भट्टराई

(छन्द : शिखरिणी)

बिधाताले यस्तो अनुपम कला मातृ सरिता
रच्यो आमा भन्ने अमर पद कस्तो रचयिता
म आमाको सानो फगत मुटुको रक्त कण हुँ
नहूँ कैल्यै ठूलो हुनु किन छ सानै भइरहूँ।

म पेशाले ठूलो हुन त सकुँला डाक्टर तर
तिमीभन्दा ठूलो छ र कुन यहाँ इन्जिनियर
तिमीले नै मेरो सबल तनको सिर्जन गरी
दियौ यस्तो राम्रो मनुज हुनुको जीवन हरि !

भ-यौ होला साँच्चै कुन पल ममा प्राण कसरी ?
म जन्मेँ मान्छे भै अनि छु जिउँदो आज यसरी।
गरायौ धर्तीमा अवगत मलाई म हुनुको
तिमीले नै गर्दा त छ सब मजा हाँस्नु रुनुको ।

तिमी मेरी तारा अनि गगनकी जून पनि हौ
उज्यालो न्यानो यो भुवनभरकी घाम पनि हौ
तिमीभन्दा राम्रो न त छ अरु क्यै भूमितलमा
तिमीभन्दा प्यारो न त छ अरु कोही सकलमा !

विधाताको हो वा कुन नियमको बन्धन परी
भएँ टाढा टाढा किन र कसरी आज यसरी
म तिम्रो फोटोमा मुख दिनदिनै हेर्दछु तर
तिमी मुस्काएको हरबखत हेर्ने छ रहर !

दूधपाेखरी, लमजुङ, हाल अमेरिका


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *