हरिण मामा र सारौँ भान्जी (बालकविता)

रमेशचन्द्र घिमिरे


सारौँ : हरिण मामा, हरिण मामा कता जाने हो ?
मलाई शिरमा बोकी बोकी सँगै लाने हो ?
हरिण : लान हुन्थ्यो भान्जी तर नलगाऊ कर
टाउकोबाट भुइँमा तिमी खस्छ्यौ भन्ने डर
सारौँ : अाफ्नै सुरमा कुद्नुस् मामा मुन्टो ठड्याई
खस्दिनँ म जोडले बस्छु पञ्जा अड्याई
हरिण : सारौँ भान्जी आकाशमा उड्न सक्दछ्यौ
मभन्दा नि तिमी छिटो पुग्न सक्दछ्यौ
सारौँ : हजुर पनि कम हुनुन्न छिटो कुद्नु हुन्छ
उस्तै परे कुद्दा कुद्दै आफै उड्नु हुन्छ
हरिण : भान्जी हेर्दा सानी तर कति जानेकी
अाफूलाई किन त्यस्तो कम्ती ठानेकी ?
सारौँ : हेर्छु आज हजुर बस्ने सहर कस्तो छ
मामासँगै जाने मलाई रहर कस्तो छ
हरिण : मलाई अलि जरुरी छ कुराे बुझ्या खै ?
तिमी उड्दै गर न है, अाउँछु म नि त्यैँ
सारौँ : जान दिन्नँ बस्छु बरु बाटो छेकेर
घुम्न मन छ हजुरको शिरमा टेकेर
हरिण : किन भान्जी तिमीलाई पार्नु पिरैमा
त्यसो भए आऊ बस मेरो शिरैमा !
– भोर्लेटार, लमजुङ
(२०७६/०१/२०)


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *