मनाङका उच्च हिमाली लेकमा यार्चागुम्बा टिप्नेहरूकाे भीड

शान्ता कमली
लमजुङ २२ बैशाख ।
हिमालपारीको जिल्ला मनाङमा बैशाख दोस्रो हप्ताबाट यार्सागुम्बा टिप्ने सिजन सुरु भएको छ । मौसमी आयआर्जनको गतिलो स्रोत यार्सा टिप्न मनाङका स्थानीय बासिन्दा यतिबेला लेकतिर जान थालेका छन् । बहुमूल्य जडीबुटी यार्सा टिप्न मनाङवासी मात्र नभई गोरखा, धादिङ, लमजुङ र नुवाकोट जिल्लाबाट समेत मानिसहरू आवश्यक सामग्री बोकेर मनाङका लेकतिर जाने गर्दछन् ।

यार्चा टिप्न लेकमा बन्दाेवस्तीका सामानसहित जाँदै गरेकाे भीड । तस्वीरः नेगम परियार

मनाङ जिल्लाको बिभिन्न लेकहरु मध्ये राम्रो यार्सागुम्बा पाउने नाम्ग्य खर्कमा यस बर्षकै पहिलो यार्सागुम्बा टिप्नको लागी पुर्जी जारी गरिएसँगै यार्सागुम्बा टिप्ने सिजन सुरु भएको हो । यस बर्ष पहिलो पटक अन्नपूर्ण संरक्षण क्षेत्र ब्यबस्थापन समितिले ताचै वगरछाप र नार गाउँमा पर्ने नाम्ग्य खर्कमा यार्सागुम्बा संकलनको लागी पुर्जी बैशाख १६ गतेबाट जारी हुने गरी पुर्जी खुल्ला गरेको अन्नपूर्ण संरक्षण क्षेत्र ब्यबस्थापन समिति मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाले बताए । यहि १६ गतेबाट पुर्जी काटी नाम्ग्य खर्कमा यार्सागुम्बा टिप्नको लागी मानिसहरु हिडिसकेको र कति पुर्जी काटि जाने क्रममा रहेको उक्त खर्कमा यार्सा संकलनको लागी टेन्डर पाएका मेघबहादुर बराइलीले बताए । यस बर्षको पहिलो पटक यार्सागुम्बा संकलनको लागी पुर्जी खुल्ला गरिएको नाम्ग्य लेकमा यार्सागुम्बा टिप्नको लागी ३६ लाख २० हजार रुपैयामा ठेक्काको जिम्मा पाएको बराइलीले बताए ।

यस बर्ष नाम्ग्य लेकमा यार्सा खोज्न जानेहरुका लागी बिभिन्न दर भाउँ समेत लगाईएको ठेकेदार बराइलीले बताए । उनका अनुसार लक्षित क्षेत्र रहेको स्थानका स्थानीयहरुलाई तीन हजार ,जिल्ला भित्रका स्थानियहरुलाई ४ हजार ५ सय र जिल्ला बाहिरका मानिसहरुलाई १० हजारका दरले उक्त नाम्ग्य लेकमा यार्सागुम्बा टिप्नको लागी दस्तुर लगाईएको ठेकेदार बराइलीले बताए । मनाङ जिल्लामा यार्सागुम्बा खोज्नको लागी जिल्ला भित्र बाट भन्दा पनि जिल्ला बाहिरका बिभिन्न गोरखा, धादिङ, लमजुङ लगाएत अन्य जिल्लाहरुबाट आउने गरेको बराइलीको भनाई छ । मनाङको उत्तरी क्षेत्रमा पर्ने नाम्ग्य लेक पुग्न सदरमुकाम चामेबाट एक दिन पूरै लाग्ने र यस लेकको उचाई ४ हजार ३०० मिटर रहेको छ । सदरमुकामबाट यस लेकको दूरी १३ किलोमिटर रहेको छ । मनाङको नाम्ग्य खर्क, किचो लेक, यक खर्क, घुम्रे लेक, पिसाङ लेक, नाप्ले लेक, फुकु लेक लगायतका लेकहरु यर्सागुम्बा बढी पाइने स्थानमा पर्दछन् ।

यार्सागुम्बा खोज्नको लागी पुर्जी खुल्ला गरिएकोमा ६ दिनमा ४ सय ९ जनाले अनुमती तथा पुर्जी लिएका छन् । उक्त नाम्ग्य लेकमा यार्सागुम्बा खोज्न जानको लागी ६ सय जनालाई मात्र अनुमति तथा पुर्जी प्रदान गरिने उक्त नाम्ग्य खर्कका ठेकेदार बराइलीले बताए । जिल्ला भित्र यार्सागुम्बाको सिजन सुरु भएसंगै सुरक्षा ब्यबस्था समेत कडाई गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवणकुमार विकले बताए । यार्सा टिप्ने सिजन सुरु भएसँगै जिल्लाका खर्कहरुमा बिभिन्न किसिमका नकारात्मक कृयाकलाप हुन सक्ने भन्दै प्रहरीले जिल्ला भित्रने नाका तथा चेकपोष्ट र यार्सागुम्बा खोज्नको लागी जाने नाकाहरुमा कडाई गरिएको विकले बताए । खर्कहरुमा मादक पदार्थ तथा आवस्यक भन्दा बाहिरका हातहतियारहरु लैजानमा समेत रोक लागाईएको छ ।

मनाङमा बैशाख देखि असार मसान्त सम्म यार्सागुम्बाको लागी उपयुक्त सिजनको रुपमा लिइन्छ । पहिले भन्दा यस बर्ष राम्रो उत्पादन हुनसक्ने अन्नपुर्ण संरक्षण क्षेत्र व्यावस्थानि समिती मनाङका प्रमुख वावुलाल तिरुवाले बताए । उनका अनुसार यस बर्ष बढी नै हिमपात भएकाले मनाङमा यार्सागुम्बामा बृद्धि हुन्छ ।

यार्सागुम्बा खोज्ने क्रममा मनाङको नारमा गोरखा केरौंजाका ७ जनाको हत्या भएको थियो । २०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयबासीले हत्या गरीदिएपछि मनाङको साविकको नार र फु गाबिसमा यार्सा संकलन रोकिएको थियो । नार घटना पछि एक्याप मनाङले यार्सा संकलनलाई ब्यवस्थित बनाउन थालेको छ । गत बर्षदेखि कडाईका साथै ब्यवस्थित बनाएका छौं, एक्याप मनाङका प्रमुख तिरुवाले भने,‘ यार्सा खोज्न आउनेहरुलाई नागरिकताको फोटोकपी र तस्बिर मागेका छौं । यसले उनीहरुको सहज पहिचान हुनेछ ।’ जम्मा ४ वटा स्थानीय तह रहेको रहेको मनाङमा धारापानी र थोंचेबाहेक सबै टोलमा यार्सागुम्बा पाइन्छ । बेसीशहर–चामे सडकमा सहज रूपमा सवारी चल्नाले बाहिरी जिल्लाका मानिससमेत मनाङ उक्लने क्रम बढ्दो छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *