२० औं घलेगाउँ महोत्सव सुरु

शान्ता कमली
घलेगाउँ, २३ बैशाख ।

सार्क राष्ट्रकै नमना गाउँको रुपमा परिचित एवम् नेपालकै पहिलो ‘स्मार्ट भिलेज’का रुपमा अघि बढिरहेको लमजुङको क्व्होंलासोंथर गाउँपालिका ३ घलेगाउँमा २० औँ घलेगाउँ महोत्सव सोमबारबाट सुरु भएको छ ।

महोत्सवको गण्डकी प्रदेशका उद्मोग, पर्यटन बन तथा बातावरण मन्त्री बिकास लम्सालले उद्घाटन गरेका हुन् । उद्घाटन गदै उनले परम्परागत भाषा, कला संस्कृति बुझेका एक जनाले बनाएको संस्कृति बिस्तारै हराउँदै गएको बताए । उनले आफ्ना पहिचान र संस्कृति चिन्न नसक्दा सम्पत्तीको रुपमा रहेको संस्कृति बिस्तारै लोप भईरहेको भन्दै परम्परागत सस्कृतिको संरक्षण गर्न स्थानियलाई आग्रह गरे ।

होमस्टेबाट नै देशको समृद्वि हुने उनले बताए । उनले भने होमस्टेमा मुटु जोड्ने, भावाना साट्ने हो, यस्तो कुरा संसारमा नेपालमा मात्र पाईन्छ । होमस्टेहरु पुराना तरिकाले चल्दैनन् नयाँ प्रविधि र ज्ञानको आवश्यकता पर्छ उनले भने । उनले भने सडकको गुणस्तर भए होमस्टेमा पर्यटकको ओइरो लाग्छ त्यसका लागी प्रदेश सरकारले बेसीशहर देखि घलेगाउँसम्मको २४ किलोमिटर सडक आगामी १६ महिनाभित्रमा कालोपत्रे गर्छ ।

गण्डकी प्रदेश सरकारले पर्यटनबाट रोजगारी सिर्जना गरी आर्थिक हासिल गर्ने भन्दै यसका लागि ४ हजार भन्दा बढी नयाँ फर्महरुमा सरकारले लगानी गरिरहको बताए । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य मधु अधिकारीले होमस्टेले स्थानीयको आयबृद्विमा टेवा पु¥याएको बताईन् । होमस्टेमा आउने पर्यटकहरुलाई अर्गानिक परिकार दिएर गाउँमै आम्दानी गर्नुपर्ने उनको भनाई छ ।

आर्थिक समृद्वि, ग्रामीण गुरुङको लोक संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्वन गर्न र घलेगाउँलाई स्मार्ट भिलेजको रुपमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष एवं क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर घलेले बताए । उनले भने घलेगाउँका स्थानीयले वर्सेनी गाउँमा सञ्चालन हुने घलेगाउँ महोत्सवलाई नै ठूलो चाडको रुपमा मनाउँदै आएका छन् ।

हामीहरुले दसैँ–तिहार भन्दा गाउँमा वर्षको एकचोटी लाग्ने घलेगाउँ महोत्सवलाई नै ठूलो चाडको रुपमा मनाउछौ,’। स्थानीयले २०५७ सालदेखी घलेगाउँ महोत्सव मनाउँदै आएका हुन् । पर्यटन व्यवस्थापन समिति, ग्रामिण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विकका अनुसार घलेगाउँका स्थानीयले ठूलो तडकभडक गरेर महोत्सव मनाउँदैनन् । पर्यटकलाई सदैव स्वागत गर्ने घलेगाउँका बासिन्दाले महोत्सवलाई चाडपर्वको रुपमा विगत देखी नै मनाउँदै आएका छन् । “प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरवास, घलेगाउँ समृद्विको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवद्र्वन, ग्रामीण पर्यटनको विकासको पूर्वाधार” भन्ने नाराका साथ आयोजना गरीएको महोत्सव बुधबारसम्म चल्नेछ ।
घलेगाउँको पर्यटन प्रवद्र्धन गर्न, पौराणिक लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास, प्राकृतिक स्रोत–साधनको सदुपयोग गर्न, पौराणिक हास्तकला सामग्री तथा लोकल कृषि उपजको जगेर्ना गर्न, ग्रामीण पर्यटनको प्रचारप्रसार, पर्यटनबाट समृद्धि सम्भव छ भनी सन्देश फैलाउन र घलेगाउँलाई ‘स्मार्ट भिलेज’ को रुपमा चिनाउने उद्देश्य महोत्सवको रहेको छ ।
महोत्सवमा गुरुङ संस्कृति, घाटुँ, सेर्का, सोरठी, कृष्ण चरित्र, घ्याब्रे लगायतका पौराणिक नृत्य प्रदर्शन ,गुरुङ खाना महोत्सव, मनोरम प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती, पौराणिक हस्तकला सामग्री प्रदर्शनी, लोकल कृषि उपजको प्रदर्शनी, हिमालको दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन संग्रहालय, पौराणिक भेडीगोठ तिजे उत्तरकन्या मन्दिर, नमुना चिया बगान,स्वर्गभूमि रंगाशाला, क्व्होइँबो धीं पार्क, अवलोकनका साथै होमस्टे सम्वन्धी कार्यशाला गोष्ठी समेत हुनेछ ।

घलेगाउँ समुद्री सतहदेखी २ हजार १ सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण छ । घलेगाउँमा ३४ घरमा होमस्टे संचालन गरिएकोे छ । बर्षेनी हजारौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु घलेगाउँ पुग्ने गरेका छन् । चालु आवको साउन देखि बैशाख १७ गतेसम्म मात्रै आन्तरिक तथा बाह्य पर्यटक गरी २० हजार पर्यटक घलेगाउँ आएको समितिले जनाएको छ । घलेगाउँ लमजुङको सदरमुकाम बेंसीसहरदेखि २४ किलोमिटको दुरीमा पर्छ । कच्ची मोटरबाटो भएपनि ग्राभेल भएकाले अहिले बेसीशहरबाट २ घण्टामै घलेगाउँ पुग्न सकिन्छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *