पार्टी सुदृढीकरण र सरकारका गलत काम विरुद्ध कांग्रेसको जागरण अभियान

शान्ता कमली
लमजुङ २५ बैशाख
नेपाली कांग्रेसले बुधबारदेखि देशभर राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । काग्रेसको केन्द्रीय कार्यक्रम अनुसार लमजुङमा पनि सरकारकाे खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमला पन्तले सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाफ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण गर्न बुधबारबाट देशभर जागरण अभियान सुरु गरिएको बताइन् । अभियानमार्फत पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे छलफल गर्ने उद्देश्य रहेको उनले बताइन् ।

हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको अभियान ३ चरणमा १ वर्षभरि देशभर चल्ने कांग्रेसले जनाएको छ । पहिलो चरणको अभियान १ महिना चल्नेछ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, पहिलो चरणअन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन हुनेछ । दोस्रोमा चरणमा प्रदेश र तेस्रोमा चरणमा ७ सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने कांग्रेसको योजना रहेको नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले बताए ।

जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाएको छ । सम्पादन गर्नुपर्ने कामबारे जिम्मेवारीपत्र दिएर कांग्रेसले केन्द्रीय नेताहरुलाई जिल्ला पठाएको हो । कार्यक्रमलाई सफल पार्न कांग्रेसले भातृसंगठनहरुलाई पनि जिल्लामा परिचालन गरेको जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले दिएको एउटै मोडलमा देशभर जागरण अभियान कार्यक्रम सञ्चालन हुनेछ । लमजुङमा अभियानको नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पार्टी केन्द्रीय प्रतिनीधि कमला पन्तले गमलामा पानी सिंचित गरी उदघाटन गरीन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *