सुपर दोर्दी ख जलविद्युत् आयोजनामा जिल्लावासिकाे २५ करोड लगानी

शान्ता कमली

बेसीशहर, बैशाख ३१ गते ।

लमजुङको दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ख जलविद्युत् आयोजनामा जिल्लावासिले करिब २५ करोड रुपियाँ लगानी गरेका छन् ।
सुपर दोर्दी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडमार्फत जिल्लाका बासिन्दाले सो आयोजनामा लगानी गरेका हुन् । प्रवद्र्धकको स्वपुँजी (इक्विटी) को १० प्रतिशत हुन आउने रकम जिल्लाका बासिन्दले लगानी गरेको कम्पनीका अध्यक्ष इजनकुमार बरालले बताए । उनका अनुसार प्रवद्र्धकको स्वपुँजी ३० प्रतिशत अर्थात् करिब दुई अर्ब ५० करोड रुपियाँ रहेको छ । यसको १० प्रतिशत रकम जिल्लाका ९१० जनाबाट जुटाइएको अध्यक्ष बरालले बताए ।
पिपुल्स हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजना साढे ८ अर्ब रुपियाँमा निर्माण हुन लागेको हो । आयोजनामा नबिल बैङ्कको नेतृत्वमा नौवटा बैङ्कले ७० प्रतिशत लगानी गर्ने छन् । आयोजना सत प्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको प्रवद्र्धक पिपुल्स हाइड्रोपावरका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए । उनका अनुसार ०७७ असार मसान्तसम्म आयोजना निर्माण सकेर नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गरिनेछ ।
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष उदय नेपाली श्रेष्ठले भूकम्प र नाकाबन्दीका कारण आयोजना निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयमा निर्माण सक्ने बताए । ०७२ सालमा बिद्युत खरिद सम्झौता (पीपीए) गरेको सो आयोजनामा नेबिल बैंकको अगुवाईमा नौ वटा बैंकहरुले लगानी गरेका छन् । पानीको बहावमा आधारीत यो आयोजनाको कुल ग्रस हेड ६४० मिटर रहने छ भने बार्षिक २८ करोड ६४ लाख युनिट विद्युत उत्पादन हुने बताइएको छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग हिउँदमा ४ रुपियाँ ८० पैसा र बर्खायाममा ८ रुपियाँ ४० पैसामा विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएको थियो ।
दोर्दी करिडोरमा निर्माणधिन अवस्थामा रहेको सुपरदोर्दी ख मध्यमस्र्याङ्दी पछिको दोस्रो ठुलो आयोजना हो । उक्त आयोजनाको बाँध ढोडेनीको तुम्सीमा रहने आयोजनाले जनाएको छ । सुरुङमा पनेस्टक पाइपमार्फत पानी ल्याएर ढोडेनीको ताँजे गाउँको तल्लो भेग लोँदो र दोर्दी खोलाको तिरमा भूमिगत विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गरिने भएको छ ।
प्रतिमेगावाट १६ करोड ३० लाखमै विद्युत
सरकारी आयोजनाको लागत प्रति मेगावाट ५२ करोडसम्म पुग्दा लमजुङमा निर्माणाधिन ५४ मेगावाटको सुपर दोर्दी–ख ले भने १६ करोड ३० लाखमै आयोजना निर्माण गर्ने भएको छ । २०७५ देखि ०८५ सम्मको अवधिलाई सरकारले उर्जा दशकको रुपमा लिएको छ । प्रतिमेगावाट १६ करोड ३० लाखको लागतमा निर्माण अघि बढेको यो आयोजनामा बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम एकसाथ अघि बढेको छ । स्वदेशी लगानीमै बन्न लागेको यो आयोजना पिपुल्स हाइड्रोपावर कम्पनीद्धारा प्रवद्र्धित छ । कुल ५० प्रतिशत काम सकिएको आयोजनामा ५८ प्रतिशत सुरुङ निर्माण सम्पन्न भएको प्रवद्र्धक कम्पनीको दावी छ । आगामी २ बर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनामा ६ ठाउँबाट सुरुङ खन्ने काम शुरु गरिएको आयोजनाका प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमको भनाई छ । उनका अनुसार सबै संरचना भूमिगत भएको नेपालकै पहिलो जलविद्युत आयोजना हो । अहिले आयोजनामा मूख्य र अडिट सुरुङ गरि नौ हजार एक सय ४० मिटर सुरुङमध्ये पाँच हजार मिटर भन्दा बढी सुरुङ खनिसकेको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *