बेसीशहर, जेठ १ गते ।

पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायतका शुभकार्यमा सालको पातको दुना र टपरीको प्रयोग गर्ने प्रचलन छ । तर पछिल्लो समय दुना, टपरीको प्रयोग शहरबजारमा मात्र नभइ गाउँघरबाटै हराउन थालेकाे छ ।

हिजो आज प्लास्टिकका भाँडाको प्रयोग बढ्दो छ । यसले पर्यावरणमा नराम्रो असर पार्ने भए पनि यसको प्रयोग कम हुनुको सट्टा बढ्दो छ । घरसारमा मात्र होइन, विवाह, ब्रतबन्ध, भोज भतेरमा पनि प्लाष्टिकका भाँडाको चलन बढिरहँदा सालको पातको टपरी दुनाको प्रचलन विस्तारै हराउन थालेको हो ।

प्लाष्टिक सितिमिती कुहिँदैन । माटोमुनी गाड्दा पनि बर्षौसम्म यो जस्ताको तस्तै बस्छ । यसले माटोको उर्वराशक्तिलाई क्षीण बनाउँछ, यसलाई जलाउँदा पनि वातावरणमा नराम्रो असर पार्दछ । त्यसैले प्लाष्टिकका प्लेट लगायतका भाँडाको प्रयोगको सट्टा सालको पातकै दुना टपरी प्रयोग गर्नु उपयुक्त हुने भए पनि शहर बजारमा सालको पातको अभावले यसको प्रयोग घट्दो छ । बेसीशहरलगायत लमजुङका शहरी क्षेत्रमा विरलै मात्र सालको पातका दुना टपरीको प्रयोग भइरहेको छ ।

दिनभर सालको पातको खोजी गर्नु, सालको पात बोकेर ल्याउनु अनि टपरी लगाउन सिन्का बनाउने र पात पात गाँसेर दुना टपरी टपरी बनाउदा बढी झञ्झट हुने भन्दै प्लाष्टिक प्रयोग बढेको हो ।

परम्परागत रुपमासालका पातको टपरी, दुना, बोहताको चलन नै बन्द हुने हो कि भन्ने आशंका बढिरहेकै बेला लमजुङमा यिनका संरक्षणका लागि अभियान शुरु भएको छ । राइनासको वडा नं. ८ हर्राबोटका महिलाहरुले अभियान थालेका छन् । दुना टपरी लोप हुन नदिने मात्र होइन, दुना टपरी बनाएर विक्री गरी आर्थिक उपार्जन गर्ने उद्देश्य समेत महिलाहरुले राखेका छन् ।

स्थानीय कृषि ताजा तरकारी उत्पादक सहकारी संस्थामा आवद्ध महिलाहरुले राइनास नगरपालिकाको सहयोगमा दुना टपरी बनाउने मेसिन नै खरिद गरेका छन् । त्यस क्षेत्रका ५ सय महिला सदस्य रहेको सो सहकारी संस्थाले घरेलु तथा साना उद्योग विकास समितिको प्राविधिक सहयोगमा दुना टपरी बनाउने तालिम पनि भर्खरै सम्पन्न गरेको छ ।

गत बैशाख २६ गतेदेखि शुरु भएको तालिम शनिबार सकिएको हो । राइनास नगरपालिकाका उपप्रमुख धनकुमारी गुरुङले उद्घाटन गरेको तालिम नगरप्रमुख सिंह बहादुर थापाले शनिबार समापन गरेका हुन् । २२ जना स्थानीय महिलाले तालिममा सहभागिता जनाएका थिए । सहकारीका लेखा समितिका संयोजक अम्बिका ओलियाले सहकारीले ल्याएको मेसिनले विभिन्न तीन साइजका दुना टपरी बनाउने जानकारी दिइन् । ती दुना टपरी वातावरण मैत्री रहेको उनले बताइन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *