भुँडी जत्रो जाँतो (बालकविता)

– रमेशचन्द्र घिमिरे
पिँढी छेउ बसेको त झन्नै गयो सातो
घ्वाइँ घ्वाइँ कराउँदा भुँडी जत्रो जाँतो

`मास राखे दाल बन्छ चामल राखे पिठो
जे बने नि पकाउँदा खाँदा हुन्छ मीठो´
यसो भन्दै अामाले समाएर हातो
ढुक्कैसँग घुमाउनु भो भुँडी जत्रो जाँतो

बेला बेला छुसुछुसु खन्याउँछु म नि
दाल,पिठो जे-जे बन्छ बनाउँछु भनी
घुमाउन खोजेको त दुख्यो अाफ्नै पातो
सकिएन हच्काउन भुँडी जत्रो जाँतो ।
– भोर्लेटार, लमजुङ
२०७६/०२/०४


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *