गाउँकाे चाैताराे (बालकविता)

– रमेशचन्द्र घिमिरे
अाजकलका मान्छेले धर्म छाडेका
हाम्रो गाउँको चौताराे किन फाँडेका ?

दुर्गे भाइकाे असाध्यै चित्त दुखेछ
ड‍ोजर ल्या´को देखेर घरमै लुकेछ
बनाउने कोही हैनन् बिगार्नकै ध्यान
यिनको कत्ति रै´नछ मेरो जत्ति ज्ञान !

हजुर बाले पालेका बाले पालेका
केको चिलो लाएर किन ढालेक‍‍‍ा ?
अामासित गएर दु:ख बिसाय‍‍‍‍ो
भात् खान नि मन छैन भन्दै रिसाय‍‍ो

अब ढुङ्गा, बालुवा ल्याउँछन् खन्याउँछन
य‍ो चौतार‍ो मासेर अफिस बनाउँछन्
भोलिदेखि जान्न त्याँ मन धर्किन्छ
भत्किएको देखेर मुटु चर्किन्छ

थकाइ लाग्दा बटुवा बस्न अाउँथे
गाइने दाइ अाएर गीत गाउँथे
जम्दार्नीले गाग्रीमा पानी राख्दथिन्
खाजा खाने खेताला यतै डाक्दथिन्

शीतल बस्थे भरिया भारी लडाउँथे
चौताराको पेटीमा डोको अड्याउँथे
मुखिनीले वरपीपलको पूजा गर्ने ठाउँ
उनलाई पनि लाग्द‍‍ो हो अब कता जाऊँ

चौतारामै बसेर अक्किल झिकेथेँ
मैले पनि बाघगोटे खेल्न सिकेथेँ
खेतको बाली जिम्मालले बुझ्ने गर्थे यैँ
निद्रा लाग्दा कति त सुत्ने गर्थे यैँ

हल्दार बाले चोया ल्याउँथे डोको बुन्दथे
सिलोक हाल्थे कप्तान बा अरु सुन्दथे
फुर्सद हुँदा चौतारामा भेट्थे गफिन्थे
एउटा एउटा गर्दै मान्छे अाउँथे थपिन्थे

सिरिसिरी हावा चल्दा मनै रमाउँथ्यो
फलफूल बेच्ने मान्छेले नि पैसा कमाउँथ्यो
सबैको थ्यो चौतारो साना ठूलाको
मिटिङ हुन्थ्यो यसैमा नहर कुलाको

श्यामलाई पनि नमज्जा भ‍‍ो रोयो कराय‍ो
मासिएर चौतारा शोभा हराय‍ो।
– भोर्लेटार, लमजुङ


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *