भक्ति थापा पार्कः राइनासकाेटकाे विकासकाे काेशेढुंगा बन्ने

राइनास, बैशाख ८ गते ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले भरिएको लमजुङको सुन्दर गाउँ राइनासकोटमा थप पर्यटकीय आकर्षण थपिँदै छ ।
नेपाल एकीकरणका वीर खम्बा भक्ति थापाको १५ फिटको शालिकसहित राइनासकोटमा भक्ति थापा पार्कको निर्माण शुरु भएको छ । याे पार्क राइनासकाेटकाे पर्यटन विकासका लागि काेशेढुंगा हुने अपेक्षा गरिएकाे छ ।  असाध्यै रमणिय स्थानमा रहेको राइनासकोटको कोटगाउँ डाँडामा भक्ति थापा पार्क निर्माण शुरु गरिएको हो । गण्डकी प्रदेश सरकारसंगको साझेदारीमा राइनास नगरपालिकाले पार्कको निर्माण गरिरहेको छ ।
यसै आर्थिक बर्षदेखि शुरु भएको भक्ति थापा पार्क चार करोडको लागतमा निर्माण गर्ने लक्ष्य राखिएको छ । यसका लागि गण्डकी प्रदेश सरकार र राइनास नगरपालिकाले ५०–५० प्रतिशत लगानी गर्ने छन् । त्यहाँ भक्ति थापाको १५ फिट अग्लो शालिक रहनेछ । पर्यटकीय क्षेत्रको रुपमा विकास भएको राइनासकोटमा थप आकर्षणको रुपमा यस पार्कको निर्माण गरिएको नगरप्रमुख सिंहबहादुर थापाले बताए । नेपाल एकीकरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सरदार भक्ति थापाको सम्मान स्वरुप पार्क निर्मण गर्न लागिएको हो ।
निकै आकर्षक ढंगले बनाउन लागिएको पार्क नेपालकै नमूना पार्कको रुपमा विकसित हुने मेयर थापाले जानकारी दिए । थापाका अनुसार पार्कको डिपिआर निर्माण भइ तीव्र गतिमा काम भइरहेको छ । हाल भक्ति थापाको सानो शालिक भएको स्थान भन्दा करीब एकसय मिटर पर पार्क निर्माण हुँदै गरेको छ ।
मेयर थापाका अनुसार अहिले पार्कको प्रारम्भिक चरणको काम भइरहेको छ । हाल डाँडामा खनेर सम्याउदै मिसिनरी वालको काम भइरहेको छ । तीन चरणको मिसिनरी वालको काम सकिएपछि माटोले फिलिङ गरी रमणीय पार्क बनाइने छ । पार्कको बीचमा स्तम्भ बनाइने छ । सोही स्तम्भमा सरदार भक्ति थापाको १५ फिट अग्लो शालिक रहने नगरप्रमुख थापाले जानकारी दिए ।
राइनास नगरपालिका वडा नं. ९ राइनास मोहोरियाकोटका वडाध्यक्ष देवबहादुर थापाले भक्ति थापा पार्कले राइनासकोटको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।
राइनासकोट ऐतिहासिक तथा पुरातात्विक महत्वको क्षेत्र हो । यो चौविसे राज्यका पालमा लमजुङ राज्यको महत्वपूर्ण कोटको रुपमा रहेको थियो । द्रब्य शाहले यही कोटबाट लिगलिग हुँदै गोरखामा अधिपत्य जमाएका थिए ।
भक्ति थापा अहिलेको खुदी माथि ढंगै गाउँमा जन्मेका थिए । उनी तत्कालीन लमजुङका राजा वीरमर्दन शाहको सरदार थिए । नेपाल एकीकरणको दौरानमा गोरखाली संगको अन्तिम् युद्धमा पराजित भए पछि उनी नेपाली फौजका सरदार भै नेपाल एकिकरण अभियानमा सामेल भए ।
भक्ति थापाले नेपाल–अंग्रेज युद्धमा ७३ वर्षको बृद्ध उमेरमा देउथलको किल्लामा नेतृत्व गरेका थिए। उक्त युद्धमा आधुनिक हतियाराले सुसज्जित अंग्रेज फौजसंग डटेर मुकाविला गरेका थिए । देउथलको लडाइमा अंग्रेज फौजको तोप खोसेर उनीहरुतर्फ आक्रमण गर्न खोज्दा उनलाई तोपको गोला लागेको थियो । तोप लागेर लड्दै गर्दा वि.स. १८७२ साल वैशाख ६ गतपनि असंख्य अंग्रेज फौजलाई खुकुरीले छप्काएको इतिहासमा पढ्न पाइन्छ । उनको वीरताको कदर कर्दै अङ्ग्रेजले उनको शवलाई दोसल्ला ओढाएर पूर्ण सैनिक सम्मानका साथ नेपाली सेनालाई फिर्ता गरेको थियो । अंग्रेज फौजले उनको सम्मानमा देउथलमा एक स्मारक पनि बनाएका थिए, जुन हाल भारतको उत्तराखण्ड राज्यमा पर्छ ।
७३ वर्षको उमेरमा नेपाली सेनाको नेतृत्व गर्दै बेलायती तालिमप्राप्त जवान सैनिक फौजमाथि हमला गरेका भक्ति थापा एक अमत्र्य देशभक्तिको उदाहरण हुन् । यस्ता वीर भक्ति थापाको सम्मानमा राइनासकोटमा पार्क बन्नु लमजुङबासीका लागि खुशीको कुरा हो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *