सार्वजनिक यातायातको साधनमा ५० प्रतिशत छुट माग

 

बेलिना थापा

बेसीशहर, जेठ १५ ।

सार्वजनिक यातायातका साधनमा आवातजावत गर्दा अपांगता भएका व्यक्तिलाई सिट आरक्षण र भाडामा ५० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

अपांग संरक्षण समाज लमजुङले प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईलाई बुधबार ज्ञापन पत्र बुझाउँदै अपांगताका सवाल सम्बोधन गरिदिन माग गरेका हुन् ।

समाजका अध्यक्ष चन्द्रकान्त पौडेलद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा अपांगताका सवालमा बनेका नीति, नियम र कानुनहरु कार्यन्वयन भए नभएको अनुगमन गर्नको लागि जिल्ला स्तरमा बलियो अनुगमन समिति गठन गर्न माग गरिएको छ । यस्तै, स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुरुप अपांगताका सवालमा बनेका नीति, नियम र कानुहरु प्रभावकारी कार्यन्वयन भए नभएको जान्न र बुझ्नका लागि प्रत्येक चौमासिक रुपमा सरोकारवालाहरु बीचमा बैठक बस्ने मिलाउनुपर्ने, अनिवार्य तथा निल्शुल्क शिक्षा सम्बन्धी ऐन २०७४ को प्रभावकारी कार्यन्वयन गर्न माग गरेको छ ।

ज्ञापन पत्रमा भनिएको छ ‘रोजगार हक सम्बन्धीत ऐन २०७५ अनुरुप अपांगता भएका व्यक्तिको लागि अन्तराष्ट्रिय गैरसरकारी संस्था र राष्ट्रिय गैर सरकारी संस्थाहरु उद्योग र कारखानामा कम्तिमा २५ जना कामदार वा कर्मचारी भएमा अपांगता भएका व्यक्तिहरुको योग्यता र क्षमताको आधारमा कम्तिमा ५ प्रतिशत अपांगता भएका व्यक्ति रोजगारीमा आरक्षणको व्यवस्था भए अनुरुप कार्यन्वयनको लागि सम्बन्धित निकायलाई निर्देशन गरियोस्, अपांगता मैत्री भौतिक पूर्वाधार निर्माण गर्न पहल गर्नुका साथै बनी सकेका भावनहरुमा भएका सरकारी कार्यालयहरुमा प्रमुख तथा उपप्रमुखको कार्यकक्षा भुई तलामा रहने व्यवस्थाको पहल गरियोस् ।’

उक्त ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा समाजका अध्यक्ष पौडेलसंगै सचिव सिताराम बस्याललगायत पुग्नुभएको थियो ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *