देश र जनताको सामान्य अवस्था पनि थाह नहुने प्रधानमन्त्रीबाट देशले ठूलो आशा गर्न हुँदैनः गगन थापा

निरज अधिकारी

बेसीशहर, जेठ १९ गते ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लोकप्रिय युवा नेता गगन कुमार थापाले देश र जनताको सामान्य अवस्था पनि थाह नहुने प्रधानमन्त्रीबाट देशले ठूलो आशा गर्न नहुने बताएका छन् ।
प्रधानमन्त्री ओललाई संसदमा झगडा गर्न, अरुलाई होच्याएर आफू ठूलो बन्नबाहेक केहि केही नआउने भन्दै थापाले यस्ताबाट देशको हितमा काम हुन्छ भन्ने आशा नगर्न आग्रह गरे । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत आईतबार बेसीशहर नगरपालिका–११ चिति वडा समितिले तिलहारमा गरेको विशाल आमसभालाई सम्बोधन गर्दै नेता थापाले हावादारी कुरा गर्ने प्रधानमन्त्रीबाट नेपाली जनताले सुखको अनुभुती कदापी गर्न नसक्ने ठोकुवा गरे ।
‘केपी ओली नेतृत्वको नेकपाको सरकारको एक बर्ष वितिसकेको भन्दै थापाले अहिलेसम्म केही परिवर्तन नभएको बताए । सरकारका क्रियाकलापले गर्दा नेकपालाई भोट हाल्ने जनताले पनि शीर ठाडो पारेर उसको समर्थन गर्न नसक्ने अवस्था आएको भन्दै उनले दुई तिहाइको दम्भ पाल्नेबाहेक सरकारले अरु केही नगरेको आरोप लगाए ।
नेता थापाले सरकारको विरोध कांग्रेसले गर्नै नपर्ने भन्दै अहिले पत्रकार र जनताहरुले नै प्रतिपक्षको भूमिका निर्वाह गरेकाले कांग्रेसलाई विरोध गर्नै नपरेको जिकिर गरे । उनले भने सञ्चार क्षेत्रमा हस्तक्षेप गर्न खोज्दा देशभरका पत्रकारहरु आन्दोलनमा छन् । सुन काण्ड, वाइड बडी विमान काण्ड र निर्मला हत्याकाण्डको विषयमा जनता सबै जानकार भइसकेको भन्दै यिनै उपहार नेकपाको सरकारले जनतालाई दिएको उनले बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री कमला पन्तले वडा स्तरदेखी नै कांग्रेस कार्यकर्ताले प्रतिपक्षको भुमिका निर्वाह गर्न र सरकार र स्थानीय निकायमा हुने गलत काम कारबाहीबारे जनतालाई जागरुक बनाउनु पर्नेमा जोड दिइन् । कांग्रेसले थालेको राष्ट्रिय जागरण अभियानमा केन्द्रीय प्रतिनिधिको रुपमा आएकी पन्तले सरकारका गलत कामको भण्डाफोर गर्न कार्यकर्तालाई आग्रह गरिन् ।
उनले कांग्रेस भनेको विचार भएकाले कांग्रेसका आदर्श, सिद्धान्त, विगतको गौरवपूर्ण इतिहास, कांग्रेसले देश र जनतालाई दिएका योगदानबारे जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा पूर्व मन्त्री रामचन्द्र अधिकारी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेसका जिल्ला सभापति भेष बहादुर पौडेल लगायत पूर्व सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधीहरुले आफनो भनाई व्यक्त गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *