अर्काे माअाेवादीकाे जन्म किन भयाे ? दलहरूले जवाफ दिनुपर्छः कमल थापा

बेसीशहर, जेठ २७ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका निमित्त मुलुकले ठूलो मूल्य चुकाउनु परेको भन्दै आज फेरि अर्को माओवादीको जन्म किन भयो यसबारे सत्ताधारीहरुले जनतालाई जवाफ दिनुपर्ने बताएका छन् ।
देशमा आइन्दा राजनीतिक परिवर्तनका लागि जनतालाई हतियार उठाउन नपर्ने अवस्था ल्याउनकै लागि भनि हिन्दू राष्ट्रको पहिचान समाप्त पार्दै राजतन्त्रलाई समेत पाखा लगाइ देशमा संघीयता लागू गरे पनि आज फेरि नयाँ रुपमा अर्को माओवादीको जन्मनुको कारणबारे जनतालाई अहिलेका शासकले जवाफ दिनुपर्ने बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले मेची महाकाली स्वभिमान अभियानको क्रममा सोमबार बेसीशहरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोभ, लालच, प्रलोभन दिएर र भ्रम सिर्जना गराएर नेपाली जनताको धर्म परिबर्तन भइ रहेको भन्दै यसले राष्ट्रिय पहिचानमा गम्भीर संकट आइपर्ने पनि बताए । मेची महाकाली स्वभिमान यात्रा समापनका क्रममा लमजुङमा अध्यक्ष थापाले धर्म परिवर्तनले मुलुकमा धार्मिक द्वन्द्व निम्तिने खतरा रहेको औंल्याए । धर्म परिवर्तनले अहिले विशेष गरी बौद्ध, किराँत धर्म संकटमा परेको भन्दै उनले आफूहरुको अभियान हिन्दू सनातन धर्मको रक्षाका लागि भएको दावी गरे । अध्यक्ष थापाले धर्म परिवर्तन नरोके देशमा ठूलो द्वन्द्व निम्नि सक्ने चेतावनी दिए ।
राप्रपा सबै धर्मबीच समानता र स्वतन्त्रताको पक्षमा रहेको प्रष्ट पार्दै उनले माओवादीलाई मूलधारमा ल्याउने नाममा नेपालको राष्ट्रिय पहिचानको रुपमा रहेको हिन्दू राष्टको पहिचानलाई नामेट पारी धर्म निरपेक्षता लादिएको गुनासो गरे । ०६२÷०६३ को आन्दोलनमा कहिल्यै पनि धर्म निरपेक्षताको कुरा नउठेको भन्दै उनले आन्दोलन सकिएपछि षडयन्त्रपूर्वक रातारात असंबैधानिक रुपमा विदेशीहरुको दवाव र प्रभावमा परी केही नेताहरुले हिन्दू राष्ट्रको पहिचान खोसेको बताए । उनले २०६२÷६३ सालको आन्दोलन पछिका यतिका बर्षमा नेपाली जनताले सकरात्मक परिवर्तनको अनुभूति गर्न नपाएको दावी गरे ।
अध्यक्ष थापाले पछिल्ला १२ बर्षमा देश विखण्डनको आवाज उठेको, देशमा गरिबी बढेको र भ्रष्टाचार बढेको दावी गरे । वाइडबडी, सुनकाण्डजस्ता काण्डै काण्डमा सरकार फसेको भन्दै उनले जनतालाई सचेत हुन आग्रह गरे ।
कार्यक्रममा राप्रपाका गण्डकी प्रदेशका अध्यक्ष हेमजङ गुरुङ , केन्द्रीय उपाध्यक्ष तोरण बहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष वुद्धीमान तामाङ लगायतले राष्ट्रिय स्वभिमान यात्राको सान्दर्भिकताका बारेमा चर्चा गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *