ब्यवसायीहरु चुनावको तयारीमा, बेसीशहरमा नेकपा सम्बद्ध ब्यवसायीकाे भेला

बेसीशहर असार २ गते।

एक बर्षपछि हुने लमजुङ उद्योग बाणिज्य संघको निर्वाचन आफ्नो पक्षमा पार्न नेकपा समर्थित ब्यवसायीहरु संगठित हुन थालेका छन् ।

नीजि क्षेत्रको प्रतिनिधिमूलक संस्था लमजुङ उद्योग बाणिज्य संघमा झण्डै दुई दशकदेखि ब्यवसायीहरु राजनीतिक आस्थाका आधारमा चुनावमा होमिने गरेका छन् । विशेगरी नेपाली कांग्रेस र तत्कालीन नेकपा एमाले समर्थित ब्यवसायीहरु प्यानल बनाएर निर्वाचनमा होमिदै आएकामा अबको चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस निकटका ब्यवसायीहरुबीच प्रतिस्पर्धा हुने पक्का छ ।

त्यसकै तयारीका लागि अहिले नेकपा निकटका ब्यवसायीहरुले जिल्लाका विभिन्न ब्यापारिक केन्द्रहरुमा भेला भइ तयारी थालेका हुन् । ब्यवसायिक हक हितका साथै बामपन्थी एकतालाई मजबुत बनाउन भेला गरिएको भनिए पनि भेलामा आगामी संघको निर्वाचनमा के कसरी जित्न सकिन्छ भन्ने विषयमा ब्यापक छलफल हुने गरेको छ । नेकपाले सदरमुकाम बेसीशहर, सुन्दरबजार, राइनास, भोर्लेटार लगायतका नगर क्षेत्रमा भेलाको आयोजना गरिसकेको छ । पछिल्लो पटक शनिबार बेसीशहरमा भेला गरिएको हो । भेलामा ब्यवसायीक हकहितका साथै एकता र आगामी निर्वाचनको विषयमा छलफल भएको एक सहभागीले जानकारी गराएका छन् ।
भेलाले श्रीकृष्ण लामिछानेको अध्यक्षतामा बेसीशहर नगर संयन्त्र गठन गरेको छ । उनी नेकपा सम्बद्ध व्यवसायीको जिल्ला संयन्त्रका सचिव समेत हुन् । भेलाले गठन गरेको १५ सदस्यीय नगर संयोजन समितिको सचिवमा हाल संघको तृतीय उपाध्यक्ष रहेका अशोक अधिकारी चयन भएका छन् ।

समितिको सदस्यमा रविन विक, ताराराज घले, कल्पना बोहरा, काजिराम बस्नेत, यज्ञनारायण श्रेष्ठ, रहमत खान, युवराज पौडेल, पूर्णचन्द्र घिमिरे, दीपक बुढाथोकी, भरत बस्नेत, राजकुमारी श्रेष्ठ, वेदराज खनिया र परशुराम न्यौपाने चयन भएका छन् ।

आगामी निर्वाचनमा लामिछाने नेकपाको तर्फबाट संघको अध्यक्षमा उठ्ने पक्का पक्की भएको बुझिएको छ । हालका तृतीय उपाध्यक्ष अशोक अधिकारीलाई प्रथम उपाध्यक्षमा उठाउने तयारी भए पनि कतिपय ब्यवसायीले गएको निर्वाचनमा दुइ बर्ष अघि तृतीय उपाध्यक्षमा अधिकारीसंगै पराजित भएका लामिछानेको सट्टामा चुनाव जितेका अधिकारीलाई अध्यक्षमा उठाउनु पर्ने मत राखेका छन् ।

भेलामा बेसीशहर नगरपालिकामा कृयाशिल नेकपा सम्वद्ध उद्योगी–व्यवसायीको सहभागिता थियो । प्रदेश सांसद तथा नेकपा लमजुङका सचिव धनञ्जय दवाडीको प्रमुख आतिथ्यमा र नेकपा सम्बद्ध ब्यवसायीहरुको जिल्ला संयन्त्रका संयोजक प्रेमलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहरका नगरप्रमुख गुमानसिंह अर्याल, वार इकाई लमजुङका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नेकपा बेसीशहरका अध्यक्ष राजकुमार विष्ट, दोर्दीका अध्यक्ष युवराज अधिकारी, लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ, पूर्व अध्यक्ष धर्मराज श्रेष्ठ लगायतले भेलाको उपदेयता र ब्यवसायीक हक, हित र मर्यादाका बारेमा चर्चा गरेका थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *