मनाङवासीको जहाज चढ्ने सपना अधुरै

शान्ता कमली
लमजुङ ४ असार
विमानस्थल बने सँगै मनाङबाट जहाज चढेर काठमाण्डौ र पोखरा जाने खवरले उत्साहित बनेका मनाङबासी यतिवेला भने निराश बनेका छन् । हिमालपारीको जिल्ला मनाङमा रहेको एक मात्र हुम्डे विमानस्थलमा कुनैपनि विमानले उडान भर्न नसक्दा मनाङवासी निराश बनेका हुन् । बिमानस्थलमा ७ बर्ष देखी कुनैपनि बिमान अबतरण नहुँदा प्रयोगबिहीन बनेको हो । मनाङ ङिस्याङ गाउँपालिका ४, हुम्डेमा हुम्डे विमानस्थल छ । तर, अहिले प्रयोगमा छैन । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले ‘माल पाएर पनि चाल नपाए’ जस्तै हुम्डे विमानस्थल भएको बताए । ‘हुम्डे हवाई मैदान नेपालकै सुन्दरमध्ये एकमा पर्छ । हामीले यसलाई प्रयोगमा ल्याउन सकेनौं । यति राम्रो र सुन्दर ठाउँ भए पनि जहाज नआएको ६र७ वर्ष भयो,’ उनले भने ।


हुम्डे विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष ०६९÷७० मा ९ करोड रुपैयाँ खर्चेर ६ सय मिटरको धावनमार्ग विस्तार गरी ९ सय मिटर बनाएको थियो । कालोपत्रे पनि गरेको थियो । त्यतिबेला निगमले तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारीहरू ल्याएर मंसिरमा हवाईजहाज परीक्षण गरिएको थियो । विमानस्थलको धावनमार्ग मर्मत र कालोपत्रे भएपछि हरेक महिना विमान भर्ना सकिने बताएको थियो । त्यसयता वायुसेवा निगमको जहाज मनाङ पुगेकै छैन। कालोपत्रे गर्नुअघि वायु सेवा निगमले सातामा २ पटक पोखरा–मनाङ र मनाङ–पोखरा नियमित उडान भरेको थियो । हरेक वर्ष असार १६ र पुस १६ देखि मौसममा आएको खराबीका कारण २ र २ महिना सूचना जारी गरेरै हवाई उडान स्थगित गर्दै आएको थियो । विमानस्थल ३ हजार ३ सय ३० मिटर उचाइमा अवस्थित छ । पोखरा–मनाङ वा मनाङ–पोखरा हुँदा २५ मिनेट लाग्छ । हुम्डेमा ०३९ असोजबाट उडान सुरु गरिएको थियो । हुम्डे विमानस्थलमा ३ वर्षअघि गोमा एयरले परीक्षण गरेको थियो।
स्थानिय र पर्यटकलाई सास्ती
करोडौँ रुपैया खर्चेर ६ वर्ष अघि नै स्तरउन्नती र कालोपत्रे गरि बाह्रै महिना जहाज अवतरण गर्न सकिने हुम्डे विमान स्थलमा पछिल्ला वर्षमा सरकारी तवरबाट वा व्यवसायीक हिसावले कुनैपनि जहाज अवतरण नभएको मनाङका स्थानीय विनोद गुरुङले बताए । ‘सडक सञ्जालले जोडिएको भन्दै कतिपय वायु सेवा प्रदायक कम्पनीले उडान नभरेकाले आवतजावतमा स्थानीयले सास्ती भोग्नुपरेको छ ’ उनले भने । नियमित उडान भए मनाङ पुगेका पर्यटक केहि दिनको बसाईपछि थोराङपास पुगेर मुस्ताङको जोमसोम हुदै पोखरा फर्कन सक्ने भएकाले विमानस्थलको ठुलो महत्व रहेको गुरुङको भनाई छ ।
गाउँपालिकाको पहल
यता अन्नपूर्ण पदयात्राको मुलमार्ग मानिने मनाङमा नियमित उडान नहुँदा समस्या भएकाले सरकारी तवरबाट पनि विमानस्थल सञ्चालनको पहल गरिरहेको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । घलेले जहाज नचल्दा वृद्धवृद्धा, बालबालिका तथा गम्भीर प्रकृतिका बिरामीलाई समस्या परेको बताए । हामी यस विषयमा छलफल गर्छौं,’ उनले भने । स्थानियको आवश्यकतालाई मध्यनजर गदै गाउँपालिकाले हुम्डे विमानस्थललाई प्रथामिकतामा राखेर काम गर्ने घलेले बताए ।
सरकारको निती असफल
सरकारको दुर्गम पहाडी जिल्लाहरुमा विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गरी एक जिल्ला एक एयरपोर्ट बनाउने नीति तथा कार्यक्रममा उल्लेख भएपनि निर्माण सम्पन्न भएका विमानस्थल समेत सञ्चालन गर्न नसक्ने सरकारले नयाँ विमानस्थल निर्माण गरिदेला र विकट सबै जिल्लामा विमानस्थल सन्चालनमा आउँला भन्ने विषयमा विश्वस्त हुने आधार नभएको मनाङका स्थानिय बासिन्दाहरुको तर्क छ ।
अहिले पनि धेरै दुर्गम पहाडी तथा हिमाली जिल्लाहरुमा एयरपोर्ट सञ्चालनमा आइसकेका छन् । कतिपय जिल्लाहरुमा भने निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आएका छैनन् । विमानस्थलका लागि करोडौँ लगानी गर्ने अनि विमान सञ्चालन नगर्ने हो भने सरकारी लगानी बालुवामा पानी मात्र हुने सरोकारवालाहरुको बुझाई छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले पर्यटकीय मौसममा गाह्रोसाह्रो परे मात्र पर्यटकलाई लिन जहाज आउने गरेको बताए । जहाज नचल्दा वृद्धवृद्धा, बालबालिका तथा गम्भीर प्रकृतिका बिरामीलाई समस्या पर्ने गरेको उनले बताए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *