गल्ती कस्काे ? (कथा)

गोविन्दबहादुर कुँवर

गौरीशंकरकाे एक्कासी सास फुलेर अायाे । निधारमा चिटचिट पसिना अाए । के गराैँ र कसाे गराैँ भए । उनकाे साताेपुत्लाे गयाे ।
फाेन गराैँ माेवाइल पनि छैन । चार्जमा राखेकाे, भित्रै छ । न कसैकाे नम्वर अाउँछ। नजिकमा नेपाली छिमेकीहरु पनि धेरै छैनन्, भएका पनि विहानै काममा गैसकेका हुन्छन् ।
विदेशकाे ठाउँ । छरछिमेकीक काेही सिरियन, काेही इथाेपियन, काेही सेरालियाेनी, काेही भारतीय, काेही पाकिस्तानी, भियतनामी र अरु देशका पनि छन् । काेही यहीँका निम्नमध्यम वर्गीय गाेरा पनि छन् । तर कसैसँग नि खासै सम्पर्क छैन ।
उनले दस पन्ध्र पटक ढाेकाकाे घण्टी थिचिसके । त्यति नै पटक पछाडिकाे सिसाकाे ढाेकाबाट भित्र च्याइसके । कतै कुनै शब्द अाउँदैन । नुहाउन, लुगा धुन लाकै भए नि यत्राे वेर त नलाग्न पर्नी हाे ।
“ल, म नानीलाई स्कूल पुराउन जान्चु, ढिलाे भैसकेच । बरु त्याँ टेबुलमा माेवाइल छ, चार्जमा राख्देऊ, है !”
उनले निस्कदैँ गर्दा गाैरीलाई भनेकाे थिए ।
नानीलाई स्कुल छाेडेसी उनलाई एक फन्काे लगाउने मन लाग्याे । सुस्त सुस्त दस पन्ध्र मिनेट दाैडेर घर अाए । ढाेकाकाे घण्टी थिचे । ढाेका भित्रबाट लक छ । जति पटक घण्टी थिचे उति धेरै लामाे समयसम्म घण्टी थिचिराखे ।
के अचम्म हाे याे, उनी विलखमन्दमा परे । पुलिसलाई फाेन गर्ने कि के गर्ने, कता जाने कसलाई भन्ने ?
हिजै मात्र घरमै प्रेसर हेरेकाे ढकाल दम्पतिसँगै । नर्मल नै थियाे । सुगर पनि ठिकै छ, अस्ति त हाे जाँचेकाे ।
उनी ढाेकामा उभिराखेका थिए। सँधियारे छिमेकी सिरियाली महिला टिमटिम पर्दै बाहिरबाट अाइन् र हाई भनिन् ।

(अब कथालाई अात्म कथात्मक शैलीमा लेख्छु)

मैले नि हाई भनेँ र गुडमर्निङ् पनि थपेँ । तिनी मुस्काराउँदै तअराे खाेलेर भित्र पसिन् । म अलमल्ल परिरहेँ, भनम् भनम् लागेर पनि अाफ्नाे समस्या तिनलाई भन्न सकिन ।
फेरि दुई चार पटक घण्टी थिचेँ तर कुनै चालचुल छैन । पछाडि गर पनि चियाएँ । कत‌ै देखिन तिनलाई ।
अब तिनै सिरियाली नानीकाे शरण पर्चु र पुलिसलाई बाेलाइदेऊ भन्चु भनेर तिनकाे तअराे खाेल्न खाेजेकाे, क्यै लाएन । कसरी अड्का हाे कुन्नि, खुल्दै खुलेन ।
अब दाैडेर ढकालजीकाे घर जान्चु र फेसबुक मेसेन्जरबाट सबै तिर खवर गर्छु भनेर अाँगनकाे डिलमै पुगेकाे थिएँ, गाैरी बर्षिनै लागेकाे बादलजस्ताे भएर घर तिर अाउँदै गरेकाे देखेँ । मेराे रिसकाे पाराे सयमा पुग्याे । म टाडैबाट झम्टेँ, ” म नि बाहिर जान्चु भन्न पर्दैन ? अाफूलाई ह्याँ कति तनाव भाे ! झन्नै पुलिसलाई फाेन गरेकाे ?”
तिनी त झन् मलाई नै खाउँला जसरी पाे झम्टिन्, ” मैले म नि जान्चु भन्या हैन त, अाफू नपर्खिनी ।”
“भनेर मात्र हुन्चकि मैले सुन्न नि पर्च ? मैले सुन्दै सुनिन त । म अाफनै सुरमा थिएँ ।”
” त्यै एकसुरे बानीले त जिन्दगीमा मैले कति दु:ख पाछु, धाेका खाछु ।”
तिनी रुम् रुम् भइन् ।
लहराे तान्दा पहराे अाउलाजस्ताे भयाे ।
म चूप लागेँ ।
Calgary, Canada.


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *