फरार अभियुक्त ३० बर्षपछि पक्राउ

शान्ता कमली
लमजुङ असार १८ गते।
अदालतले कैद फैसला सुनाएको एक अभियुक्तलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ । खुनडाँका मुद्दामा फरार भएका दूधपोखरी गाउँपालिका ४, साविक इलमपोखरी गाविस ५ का ६० बर्षीय भ्यान्टे कामीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङका अनुसार गोरखाको तत्कालीन खरीबोट गाविस ९ घर भई तनहुँको भानु नगरपालिका ८ तुरतुरेमा बस्दै आएका बेदप्रसाद पोखरेलको हत्या अभियोगमा फरार कामीलाई आफ्नै घर नजिकैबाट जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक बसन्त पाण्डेको कमाण्डमा खटिएको टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो । शनिबार विदाको दिन परेकाले आइतबार जिल्ला अदालतमा पेश गरी जिल्ला कारागार चलान हुने प्रहरीले बताएको छ । कामीलगायत ५ जना विरुद्ध मृतकका दाई कृष्णप्रसाद पोखरेलले २०४६ असोज १८ गते जिल्ला अदालत लमजुङमा मुद्दा दर्ता गरेका थिए ।
जिल्ला अदलातबाट २०४८ साल फागुन १३ गते जन्मकैद (२० बर्ष) फैसला गरेको थियो । सर्वोच्च अदालतले उक्त फैसला सदर गरेको थियो । प्रहरीका अनुसार २०४६ साल भदौ ३ गते राति ८ बजे हालको दूधपोखरी गाउँपालिका ४ का बुधसिंहको कोदो बारीमा बेदप्रसाद पोखरेलाई टाउकोमा ढुंगाले हानेर हत्या गरी चेपे नदीको त्रिवेणी भन्ने ठाउँमा शव र झोला फालिदिएको अभियोगमा ५ जना विरुद्ध मुद्दा दायर भएको थियो । उक्त मुद्दाका अभियुक्त दूधपोखरी गाउँपालिका ४ का लोकबहादुर गुरुङले कैद भुक्तान गरिसकेको छ । कैद भुक्तान बाँकी लमजुङका १ जना र गोरखाका २ जना फरार रहेको प्रहरीले बताएको छ । बेदप्रसादले तुरतुरेबाट गाउँ आउने क्रममा धेरै पैसा ल्याएको आशंकामा भ्यान्टे र लोकबहादुरसहित ५ जना मिलेर हत्या गरेको अभियोग लागेको थियो । बेदप्रसादसंग लुटेको ४ हजार रुपियाँ ५ जनाले बाडीचुडी लिएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरुलाई पछिल्लो समय खोजिकार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक बसन्त पाण्डेले बताए । उनले भने अदालत बाट प्राप्त लगतअनुसार मुद्दाका फरार अभियुक्तलाई खोजी गरी पक्राउ अभियान नै सञ्चालन गरेको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *