असारे गीत

– रमेशचन्द्र घिमिरे
नअाऊ यता बिउको पाँजो मुठीमा च्यापेर
सुकिलो जीउ मैल्याइदिम्ला धमिलाे छ्यापेर

चिटिक्क पहिरन लगाई खेतमा नआऊ जिस्किन
आइसकेपछि यत्तिकै सद्दे पाउँदिनौ निस्किन
बाउसेलाई भेट्न रोपारे बन्ने बहाना बनाउँछ्यौ
पर्ख न अब हिलोमा गड्छ्यौ असार मनाउँछ्यौ

खेतमा अाउँदा यत्तिमा राम्रो पैह्रन नलाऊ
मुटुमा चस्स चिमोट्ने गरी देखिन नअाऊ
त्यो सफ्फा ज्यानमा हिलोका छिटा परेको सुहाउन्न
मजस्ता सित तिमीले ठट्टा गरेको सुहाउन्न

भो त्यतै बस नअाऊ यता म अाफै अाउँछु
असारे गीत तिमी´नि गाऊ म पनि गाउँछु
हिलो र रोपो राखेर साक्षी पिरती लाअौँला
असारको पन्ध्र दही र च्यूरा सँगसँगै खाअौँला

फूलको थुङ्गो खोजेर तिम्रो शिरमा स्यूरिन्छु
म पनि सँगै बिउको पाँजो फोएर निहुरिन्छु
बाउसे र रोपार मिलेर चोखो औसर छोपुँला
कोदाली मिल्काई कुनामा बिउ म पनि रोपुँला ।
— भोर्लेटार, लमजुङ्ग


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *