लमजङमा अर्काे विशिष्टता थपिदै, नेपालको पहिलो, ठूलो र अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बन्ने

बेसीशहर, असार १८ गते ।

प्राकृतिक छटाले भरिपूर्ण, धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वकाे लमजङ जिल्लाकाे विशिष्टतामा फेरि अर्काे विशिष्टता थपिने भएकाे छ । लमजुङकाे सदरमुकाम बेसीशहर नगरपालिकाका विभिन्न क्षेत्रलाइ समेटेर नेपालको पहिलो, ठूलो र अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बन्ने पक्का पक्की भएपछि यसले लमजुङकाे गाैरव बढाउने भएकाे हाे ।

५ अर्ब ९० करोड रूपैयाँकाे लागतमा बन्ने भनिएकाे याे अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी चलिचित्र निर्माता संघका अध्यक्षसमेत रहेका स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष आकाश अधिकारीकाे सक्रियता र बेसीशहर नगरपालिकाकाे समन्वयमा सम्भव हुन लागेकाे हाे ।

यस सम्बन्धमा बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री गाेकूल बास्काेटाकाे राेहबरमा नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि. र इटालियन कम्पनी वर्ल्ड एरिया होल्डिङ कम्पनीबीच सहमती पत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले लमजुङमा बन्ने अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी देशकै गाैरव हुने बताए । उनले याे नेपाली फिल्म क्षेत्रका लागि एउटा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्दै यसले सरकारले घोषणा गरेको ‘छायांकनका लागि नेपाल’ नामक कार्यक्रमका लागि पनि यसले ठूलो सहयोग पुर्‍याउने बताए । ‘स्मार्ट फिल्म सिटी’ निर्माणमा सरकार सधैं सहयोग गर्न तयार हुने प्रतिबद्धता पनि उनले जनाए ।

स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष आकाश अधिकारीका अनुसार फिल्म सिटीको नाम ‘वर्ल्ड स्काई सिने भिलेन नेपाल’ राखिने छ । चाँडै फिल्म सिटीको डिपिआरको काम हुने र निर्माण ५ देखि ७ वर्षमा पूरा गर्ने लक्ष राखिएकाे छ ।

लमजुङको बेसीसहर नगरपालिकाको वडा नं. ३, ४, ५ र ९ को विभिन्न क्षेत्रका ५ हजार रोपनी क्षेत्रफलमा फिल्म सिटी निर्माण हुने उनले जानकारी दिए । उक्त फिल्म सिटी संसारकै सबैभन्दा अग्लो ठाउँको फिल्म सिटी पनि हुने अध्यक्ष अधिकारीले लमजुङ न्युज डटकमलाइ बताए । समुद्रीसतहभन्दा २०६० देखि २९०० मिटरसम्म उचाईमा यो फिल्म सिटी निर्माण हुन लागेको बताइएकाे छ । पर्यटकीय क्षेत्रमा रहने याे ‘वर्ल्ड स्काई सिने भिलेन नेपाल’ ले नेपालकै पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएकाे छ ।

नेपालमा फिल्म छायांकन गर्न आउँदा स्तरिय फिल्मी उकपरणहरू नभइरहेकाे परिप्रेक्षमा यसले त्याे अभाव पूर्ति गर्ने छ । अधिकारी भन्छन् बिदेशीहरू यहाँ फिल्म बनाउन इक्वुपमेन्ट लिएर आउँदा ठूलो खर्च लाग्छ । त्यो विग्रियो भने पनि हामीकहाँ ब्याकअप छैन । यसैकारण विदेशी मेकर नेपालभन्दा अरु देश जान चाहन्छन् । अब त्यो परिपूर्ती हामी गर्छौं । इक्यिूपमेन्टको हिसाबले पनि ।’ लमजुङमा बन्ने फिल्म सिटीमा बलिउड वा हलिउड कुनै पनि फिल्म पूरा गर्न सक्ने हाम्राे लक्ष छ ।

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *