नेपाली म (कविता)

-देव भट्टराइ

बिर्खेको ससुराबुबा मुलुकको मन्त्री बनेका तर
भ्रष्टाचार गरी सरे शहरमा अग्लो बनाई घर
मान्छे मार्न सिपालु मूर्ख मनुवा नेता हुँदा खासमा
छोडी देश विदेशिने युवकको लर्को छ नेपालमा !
ठूलो दाइ अमेरिकातिर गए सान्दाइ जापानमा
भन्छन् बस्न त आइँदैन कहिल्यै फर्केर नेपालमा।
सानो भाइ कतारमा छ अहिले अर्को छ अस्ट्रेलिया
भाषा पास गरी कमाउन भनी काका गए कोरिया
काकी जानुभयो कुवेत,भतिजो फुच्चे गयो क्यानडा
सानी त्यो भतिजीसमेत रसिया जाने भनी छिन् खडा !
मामा अस्ति मलेसियातिर उँडे भान्जा गए भारत
सालो–भाइ छ साउदी अरबमा जेठान बेलायत
नर्वे जानुभयो भिनाजु उहिल्यै छोडेर जन्मस्थल
ठूलो प्लेन चढी दिदी पनि गइन् झन् दूर इज्रायल
भान्जी डाक्टर पढ्न दुःखसुखले छिन् बङ्गलादेशमा
छन् बेल्जीयममा फुपाजु बिचरा एक्लै फुपू गाउँमा
फर्किन् अस्ति विदेशबाट बहिनी बच्चा लिई पेटमा
सोझा ज्वाइँ कठैबरा धरधरी रुन्छन् सधैँ भेटमा
कस्तो निर्मम बाध्यता विवशता पीडा व्यथा जब्बर !
प्रश्नै प्रश्न म गर्छु मैसित यहाँ कल्ले दिने उत्तर ?

दूधपाेखरी,लमजुङ

हाल अमेरिका


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *