मनाङमा खाद्यान्न ढुवानी ठप्प, हाललाइ काठेपुलले काम चलाउने तयारी

शान्ता कमली

बेसीशहर, असार १९ गते ।

मनाङलाइ लमजुङ तथा  मुलुकका अन्य भागसंग जाेड्ने बेसीशहर चामे सडक अन्तर्गत दुवै जिल्लाकाे सीमाना म्यार्दी खाेलामा रहेकाे माेटरेबल पुल गतसाताकाे बाढीले बगाएपछि  मनाङमा खाद्यान्न ढुवानी ठप्प भएको छ । अघिल्लाे आइतबार दिउँसो आएको बाढीले बगाएपछि मनाङ लमजुङकाे सीधा सम्पर्क टुटेकाे हाे ।

शसस्त्र प्रहरी ३२ नम्बर गुल्म मनाङका प्रहरी नायव उपरीक्षक निलकमल आचार्यले साेही कारणा एक सातादेखि मनाङमा सामान ढुवानी हुन नसकेको बताए । पुल बगाएपछि कतिपय सवारीसाधन मनाङतर्फ थुनिएका र लमजुङतर्फबाट गएका सवारी म्यार्दी खाेला यतै राेकिने उनले बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार बाढीले मनाङकाे तिमाङस्थित तिमाङ छहराकाे अस्थायी पुल पनि बगाएपछि चामेबाट स्यार्क्युखाेला हुँदै तिमाङसम्म गाडी चल्ने गरी वैकल्पिक बाटो निर्माण थालिएको छ ।  उनका अनुसार म्यार्दीखोलामा मानिस आवतजावत गर्न काठेपुल निर्माण गरिएको छ ।

चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले सडक सञ्चालन नहुँदा सामान ढुवानी बन्द हुँदा समस्या भएको बताए । तत्कालका लागि म्यार्दीखोलामा काठ र जाली राखी अस्थायी पुल निर्माण गर्ने गरी काम भइरहेकाे जानकारी उनले दिएका छन् ।

लमजुङसंग सिमाना जाेडिएकाे मनाङकाे नासाेँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले सडक यातायात अबरूद्ध हुँदा पर्न जाने असरलाइ न्यूनिकरण गर्न स्थानीय निकाय, प्रशासन र सडक विभागकाे प्रयास जारी रहेकाे जानकारी दिए । उनका अनुसार म्यार्दी खाेलामा बाढीका कारण भएकाे कटान र भुक्षय तथा अस्थायी पुल निर्माणकाे काम भइरहेकाे छ ।

डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर विष्णुप्रसाद काफ्लेले म्यार्दीखोलाको वारी र पारी डोजर लगाएर भासिएको ठाउँ पुर्ने काम भइरहेको र छिट्टै बेलिब्रिज निर्माण पनि सुरु गरिने जानकारी दिए । उनका अनुसार एकमहिनाभित्र बेलिब्रिजकाे काम सकिने छ ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, मनाङका सांसद पाल्देन छाेपाङ गुरूङलगायतका नेताहरूले म्यार्दीखाेलाकाे अवस्थाबारे स्थलगत जानकारी लिइ तत्कालन सडक खुलाउन अबलम्बन गर्नुपर्ने हरेक उपायका लागि सडक विभाग लगायत सराेकारवाला निकायलाइ निर्देशन दिएका छन् । उनले संघीय सरकारकाे सहयाेगमा खाेलामा बेलीब्रिज हालिने जानकारी पनि दिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *