लिबियाको बम विस्फोटमा लमजुङका सन्तोष श्रेष्ठको मृत्यु

शान्ता कमली
लमजुङ १९ असार
लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा परी लमजुङका एक जनाको मृत्यु भएको छ । आक्रमणमा परी लमजुङको बेसीशहर नगरपालिका ११ चिती तिनपिप्ले घर भएका सन्तोष श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ लिबियाबाट युरोपेली मुलुक इटाली हिंडेका थिए । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको आइओएमलाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइओएमको समन्वयमा इजिप्टस्थित नेपाली नियोगले दिएको जानकारीमा २७ वर्षीय सन्तोषको शव नेपाल फिर्ता पठाउन यात्रा अनुमति पत्र त्रिपोली पठाइएको छ । आक्रमणमा घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । वैदेशिक रोजगारीको सिलसिलामा ३ वर्ष मलेसिया र १८ महिना कतार बसेका श्रेष्ठ ४ महिना अघि मात्र लिबिया पुगेका थिए । लिबियामा रहँदै उनी इटाली जाने प्रयासमा थिए ।
सोही क्रममा उनलाई लिबियाबाट इटाली पठाउने आशमा नेपालबाट उनको परिवारले सुसान अधिकारी नामक व्यक्तिको नाममा २ लाख रुपैयाँ समेत पठाएका थिए । उक्त नगद नविल बैंक बसुन्धारा शाखाबाट खाता नं ४७१००१७५०१८३१ मा पठाएको श्रेष्ठका बुबा सोमप्रसाद श्रेष्ठले नयाँपत्रिकालाई जानकारी दिए । श्रेष्ठको मृत्युको खबर सुनेसँगै श्रेष्ठ परिवार शोकमा डुबेको छ । कमाउन गएको छोराको मृत्युको खबर पाउँदा असाहय पीडा भएको बुबा सोमप्रसाद बिलौना पोख्छन् ।
अविवाहित सन्तोष गत माघमा घर छाडेर युरोप यात्रामा निस्केको उनको बुबा सोप्रसादले बताए । लमजुङकै चिनारु एजेन्टलाई सुरुमा १० लाख रुपैयाँ बुझाएर सन्तोष काठमाडौंबाट दुबइ हुँदै लिबिया पुगेका थिए। कायरोस्थित नेपाली नियोगका चार्ज डे अफेयर्स सुजन बिडारीका अनुसार, लिबियाबाट उद्धार गरिएका अरु ८ जना नेपालीलाई पनि टर्की हुँदै घर फर्कने प्रबन्ध आइओएमले मिलाइसकेको छ । आइओएमले पछिल्लो महिनामा मात्रै २६ नेपालीलाई लिबियाबाट उद्धार गरेर नेपाल पठाइसकेको छ । अरु ६ जना नेपाली अहिले पनि आइएमको त्रिपोली शिविरमा रहेका छन्। आप्रवासी हिरासत केन्द्रमै अन्य १४ नेपाली पनि थिए । तर, उनीहरुको भने ज्यान जोगिएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *