मेरो बगेको दिल (कबिता)

छन्द:शार्दूल विक्रीडित
रचनाकार-हिरा भट्ट

बर्षामास चल्यो बतास छिनमै दर्केर पानी पर्‍यो
चौपाया र जहान साथ दिलमा उर्लेर कोशी झर्‍यो
क्वै कङ्काल र भग्न-खण्ड छरिए कोशी किनारा तिर
खोजूँ खै म कता? कता अलप भो मेरो बगेको दिल
।१।
कोही भन्छ बिहान साझ दिउँसो टिस्टा पुगी हाँस्छ रे
कोही भन्दछ जादु झैँ निमिषमै किल्ला पुगी नाच्छ रे
के भो कुन्नि छ स्वाभिमान मुटुमा भूकम्प झैँ हल्चल
कोही बोल न बोल आज छ कता मेरो बगेको दिल
।२।
डुब्दै जान्छ कि छालका लहरमा त्यो उत्रिएला कतै
बग्दै जान्छ अनन्त सम्म अथवा विश्राम लेला कतै
ए हावा गिरिराज सिन्धु नभ ए ब्रह्माण्ड तारागण
कोही बोल न बोल आज छ कता मेरो बगेको दिल
।३।
सुन्दैथेँ लिपुलेकका बनबनै दर्केर रुन्थ्यो अरे
सुस्ता आँगनका निरास जलमा ती आँसु धुन्थ्यो अरे
आफैंमा जब खुम्चियो दसगजा गर्थ्यो अरे चल्मल
कोही बोल न बोल आज छ कता मेरो बगेको दिल
।४।
हावाले गिरिराजले र जलले के गर्छ कानेखुसी
फर्की सागर बग्न खोज्छ किन खै मेरै नसामा पसी
हे ल्होत्से-हिम अन्नपूर्ण-जल हे सैपालका बादल
कोही बोल न बोल आज छ कता मेरो बगेको दिल
।५।
कौसीले इतिहास भन्छ दिलको झुक्दै नझुक्ने शिर
हाँस्दै आँगन फर्किहेर्छ किन हो मेची र काली तिर
इन्द्रेणी सरि सात रङ्ग बटुली साथै बगे कल्कल
आमा बोल न बोल पाउँछु भनी मेरो बगेको दिल
।६।

पन्चेश्वर-६,बिजुल, बैतडी
हाल:बुटवल,रुपन्देही
इमेल:hirabhatta@gmail.com


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *