धनले मातेको मान्छेलाई ! (कविता)

‘देव भट्टराई’ – (हाल अमेरिका)

छन्द: शार्दूलविक्रीडित

पैसै दाल र भात होस् तिहुन होस् तेरो त खाना पनि
पैसै दूध चिया कफी अझ तँ पी पानी यही हो भनी 
पैसा खा तँ चपा पचा रगतमा पैसा बगा सर्वदा
तेरो जीवनमा रहेछ असली पैसै ठुलो सम्पदा

पैसाकै खटिया बना र त्यसमा पैसै बिछ्यौना बना
भारी नोट नयाँ खिपी सिरक वा ब्ल्यांकेट ओढ्ने बना
पैसाकै तकिया बना अनि तँ सुत् त्यस्मै अड्याई शिर
तेरो जीवनमा रहेछ असली पैसै ठुलो आखिर

आमा बाबु र दाजुभाइ तँ बना पैसै थुपारीकन
पैसैले तँ बना दिदी र बहिनी सच्चा हितैषी जन
जोई पोइ कुटुम्ब मित्र तँ बना पैसै लगानी गरी
तेरो जीवनमा रहेछ असली पैसै पियारो हरि !!

पैसाकै गठरी बना अनि त्यसैलाई अँगालीकन
हे मायालु भनेर चुम्बन गरी तेरो रमाओस् मन
पैसाको गठरीसितै मिलिजुली मायाँ गरी बेसरी
छोरो पा तँ त्यसैगरी कि त बना छोरीहरू सुन्दरी

पैसाको पिरती लगा हृदयमा पैसै जडी मस्तले
पैसा बाँच् तँ जुनीजुनी अमर भै आनन्द आनन्दले
पैसै मात्र रहेछ जीवन अहो तेरो त हे ईश्वर !
तेरो यो महिमा म सानु कविले लेखेर के सक्छु र !!


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *