लमजुङ जिल्ला अदालतमा ६९ प्रतिशत मुद्दा फर्छ्याैट

बेसीशहर, असार २९ गते ।

अदालतबाट न्याय सम्पादनमा ढिलाइ हुने पुरानै परम्परा हाे । न्यायालयमा मुद्दाकाे चाप बढ्दा समयमै मुद्दा फर्छ्याैट हुन नसकी नागरिकहरूले बेलैमा न्याय नपाएकाे गुनासाे रहिरहेकै बेला लमजुङ जिल्ला अदालतमा भने अन्य जिल्लाकाे तुलनामा धेरै मुद्दाहरू फर्छ्याैट भएका तथ्याङ्कले देखाएका छन् ।

लमजुङ जिल्ला अदालतले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७५–०७६ मा ६८ दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्याैट गरेको जनाएकाे छ । जिल्लाका पत्रकारहरुसंग अन्तरक्रिया गर्दै जिल्ला न्यायाधीश काेमलप्रसाद अाचार्यले चालु आर्थिक वर्षकाे असार २६ गतेसम्म जिल्ला अदातलमा रहेका चार सय ९४  मुद्दामध्ये तीन सय ४० वटा मुद्दा फर्छ्याैट भइ एक सय ५४ वटा मुद्दा मात्र बाँकी रहेको जानकारी दिए ।

अदालतमा परेका मध्ये सबभन्दा बढी अंशबण्डाका मुद्दा छन् ।  त्यस्तै अदालतमा लेनदेनका मुद्दाकाे संख्या पनि कम छैन । लेनदेन मुद्दाकाे संख्या दाेस्राे धेरैमा छन् भने सम्बन्ध बिच्छेदका मुद्दाहरु तेस्राे धेरैमा परेका छन् । यस बर्ष महिलाबादी मुद्दाहरु एक सय ३८ वटा रहेकामा नयाँ देवानी संहिता लागू भएपछि पुरुषवादी नयाँ ४५ वटा  मुद्दा दर्ता भएका जिल्ला अदातलतका श्रेस्तेदार जगतबहादुर भण्डारीले बताए । उनका अनुसार महिलावादी मुद्दा एक सय १८ वटा र पुरुषवादी मुद्दा १४ वटा पछ्यौट भइसकेका छन् ।
अदालतमा अघिल्लाे बर्षकाे जिम्मेवारी सरी आएका २०, र नयाँ दर्ता भएका ५३ गरी ७३ वटा सरकारवादी फौजदारी मुद्दामध्ये ५० फर्छ्याैट भएका छन् । त्यस्तैगरी अघिल्लाे बर्षकाे जिम्मेवारी सरी आएको २४ नयाँ दर्ता ३७ वटा गरी ६१ वटा दुनियावादी फौजदारी मुद्दा मध्ये ४९ मुद्दा फर्छ्याैट भएका अदालतले जनाएकाे छ ।

अदालतमा रहेका तीनसय ४५ दुनियावादी देवानी मुद्दामध्ये दुइसय ३५ मुद्दा फर्छ्याैट भएका छन् भने पुनरावेदन फौजदारीमा नयाँ पाँच मुद्दा दर्ता भएकोमा सबै विचाराधीन छन् ।  निषेधाज्ञा मुद्दामा जिम्मेवारी सरी आएको एउटा मुद्दा फर्छ्याैट भएको छ ।

अदालतले गत वर्षको तुलनामा चालु बर्ष मुद्दाको संख्या बढेको र गत बर्ष तीन सय ८५ मुद्दा परेकामा यस  वर्ष चार सय ९४ मुद्दा रहेका जानकारी दिएकाे छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *