जनतासंग नजिक भएर काम गर्न मुख्यमन्त्री गुरूङकाे अाग्रह

कृष्ण के.सी.

बेसीशहर, साउन २९ गते ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का गण्डकी प्रदेश कमिटीका ईन्चार्ज एवं प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतासंग नजिकको सम्बन्ध बनाएर काम गर्न नेता, कार्यकर्ता तथा जनप्रतिनिधीलाई आग्रह गरेका छन् ।

नेकपा लमजुङको दोस्रो बैठकलाई मंगलबार बेसीशहरमा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले जनतासंग अलग÷थलग भएर नभई एकाकार भएकार काम गर्न आग्रह गरेका हुन् । उनले जडशुत्रवादी नभएर बद्लिँदो समय र परिस्थतीसंग आफूलाई परिवर्तनगरी अघि बढ्न पर्ने भन्दै नेता कार्यकर्ताहरुले आफ्नो आचरण सुधार नगरेसम्म जनतासंग राम्रो सम्बन्ध बनाउन नसकिने बताए ।

नेकपा स्थायी कमिटीको सदस्य समेत रहेका गुरुङले नेता कार्यकर्ताहरुमा व्यक्तिवादी चिन्तन हावी हुँदै गएको भन्दै चिन्ता जनाए । नेता तथा कार्यकर्ताहरुमा उदारवाद, अवसरवाद, अनुशासनहीता, अराजकता देखिएमा सरकार र पार्टी दुबैलाई असर पार्ने समेत बताउँदै भने– ‘मिलेर काम नगर्ने, झगडा गर्ने, जनताको बीचमा नजाने । जनताबाट अलगथलग हुने । जनताको समस्यालाई संवोधन गर्ने प्रयत्न नगर्ने । गरीबको समस्या नदेख्ने परिपाटी कम्युनिष्टहरुमा देखिन हुँदैन ।’
विगतमा गरेका राम्रा काम र नीतिका कारण कम्युनिष्ट पार्टी स्थानीय देखी केन्द्रसम्म झण्डै दुई तिहाई बहुमतको सरकार बनाउन सफल भएको भन्दै मुख्यमन्त्री गुरुङले यसलाई कायम राखेर अघि बढनु पर्ने बताए । ‘ पार्टी र सरकारलाई एकै ढंगले बुझ्नु हुँदैन । सरकारका आफ्नै सिमा हुन्छन पार्टीको आफ्नै नीति हुन्छ–मुख्यमन्त्री गुरुङले भने‘ सरकारले गरेका राम्रा काम आम नागरिकसम्म पार्टीले पु¥याउनु पर्छ । पार्टीले दिएका राम्रो निर्देशन जनप्रतिनिधिले मान्नुपर्छ ।’

बैठकमा नेकपा गण्डकी प्रदेशका सचिव एवं मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपाली, नेकपा लमजुङ ईन्चार्ज मायानाथ अधिकारी, सह–ईन्चार्ज अमरबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्दै वर्तमान सरकारले गरेका राम्रा काम र पार्टीको नीति तथा शिदान्तका बारेमा प्रशिक्षण दिएका थिए ।
नेकपा लमजुङका अध्यक्ष मधुमाया अधिकारीको अध्यक्षमा भएको कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटीका सदस्य वमबहादुर भण्डारी, महेन्द्रलाल श्रेष्ठ, प्रेम घले, लालबहादुर गुरुङ, मेखबहादुर भण्डारी, सरोज शर्मा लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण नेकपा जिल्ला सचिव धनञ्जय दवाडीले गरेका थिए ।

बैठकले पार्टीको विधान अनुसार ७ सदस्यीय कार्यालय टिम गठन गरेको छ । जसमा अध्यक्ष मधुमाया अधिकारी, सचिव धनञ्जय दवाडी, गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, लालबहादुर गुरुङ, शुभाष पौडेल र सरोज शर्मा छन् ।
त्यसैगरी बैठकले सबै पालिकामा स्थानीय तह दल गठन गर्ने, आगामी भदौ २० देखी ३० गतेसम्म सबै पालिकाहरुमा भेला तथा प्रशिक्षणगरी आम नागरिकको घरदैलोमा पुग्ने, जिल्लास्तरी बृहत भेला प्रशिक्षण असोज ४ गते र आगामी जिल्ला कमिटीको बैठक असोज ५ गते गर्ने निर्णय गरेको छ ।

बैठकले दुबै पार्टीमा रहेको सम्पत्ती भदौ १५ गतेसम्म एकिकरण गर्ने, मदन–आश्रित भवनमा जिल्ला पार्टी कार्यालय र पूर्व माओवादी केन्द्रको नाममा रहेको रातो घरमा नेकपा बेसीशहर नगर कमिटीको कार्यालय तथा जनवर्गिय संगठनको कार्यालय राख्ने समेत निर्णय गरेको छ ।

नेकपा बैठकले एकताबद्ध जनसंगठन निर्माणका लागि विधान अनुसार कृष्णप्रसाद अधिकारीको संयोजकत्वमा ५ सदस्सीय कार्यदल गठन गरेको छ । कार्यदलमा मेखबहादुर भण्डारी, शुभाष पौडेल, विवश बुढाथोकी र हरिजंग तामाङ छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *