पर्यटनमा उत्साह थप्दै गाईखुरे झरना, पर्यटककाे चाप, ब्यवस्थापनकाे खाँचाे

शान्ता कमली
बेसीशहर साउन  २९ गते ।

जति हेर्यो हेरुँ नै लाग्ने । अग्लो पहराबाट छङछङ गर्दै झरेको गाइखुरे झरना हेर्दा लाग्छ, धर्तीको स्वर्ग यही नै हो । तलतिर सुसाउँदै वगेको मस्र्याङदी नदी । मध्यमस्र्याङदी जलविद्युत परियोजनाका बाँध त्यही नै । बीचमा पर्छ डुम्रे बेसीशहर सडक ।

बर्षायाम भएकाले अहिले गाइखुरे झरनाको आकर्षण बेग्लै छ । सदरमुकाम बेसीशहरबाट जम्मा साढे ६ किलोमिटरको दुरीमा पर्छ यो झरना । ब्यस्त सडककै छेउमा रहेकाले आवतजावत गर्ने सवारीहरु समेत टक्क अडिन्छन् । यात्रुहरु गाडीबाट झरेर झरनालाई पृष्ठभूमिमा राखेर एकपोज नै भने पनि तस्वीर खिचाएर मात्र अगाडि बढ्छन् । नत्र यात्रुको मनै मान्दैन ।

हुन पनि छङछङ गरी झरेको झरनाले बेसीशहर नगरपालिकाको सौन्दर्यमा थपिदिएको छ । त्यहाँ पुग्ने जो कोहीको पनि मन भुलाइदिन्छ झरनाले । प्रकृतिको अनुपम बरदान पाएको गाइखुरे झरना बेसीशहरको प्रमुख पर्यटकीय स्थल बनेको छ । त्यहाँको सुन्दरता र मनोरम प्राकृतिलाई चुम्न यूवाहरुको लर्को लाग्न थालेको छ ।

झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ । पौडी खेल्न र नुहाउन मात्र होइन साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ, गाइखुरे झरना । चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्ने रहर यहाँ पुग्ने सबैलाई हुन्छ । बेलाबेलामा यो झरनामा ‘क्यानोनिङ’ समेत सञ्चालन हुने गरेको छ । बर्खाको समयमा मात्र ठुलो झरना हुने गाईखुरे झरनामा यूवायूवतिहरुको लर्को लाग्न थालेको छ । कोही पौडी खेल्न, कोही नुहाउन त कोही क्यानोनिङको मज्जा लिन धाईरहेका छन् । पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा निकै खुशी लागेको बेशीसहरकी रश्मी घिमिरेले बताइन् ।

आन्तरिक पर्यटक बढे
डुम्रे बेसीशहर सडकखण्ड अन्तर्गत उदिपुरको गाइखुरे झरनामा आन्तरिक पर्यटकको भिड बढेको छ । बर्षातको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको छ । बर्षायामसंगै झरनामा पानीको मात्रा बढेपछि त्यहाँ रमाउनेहरुको भिड पनि बढ्न थालेको हो । विशेष गरि विदाको दिन झरनामा हेर्न, भिज्न जानेहरुको निकै भिड लाग्ने गरेको छ । हप्ताभरि काममा ब्यस्त हुनेहरु विदाको दिन झरनामा पुगेर थकाई मेटाउने गर्न थालेका छन् । कतिपय त दिनभरीको थकाई मेटाउन साँझपख झर्ना पुग्ने गर्दछन् ।

काठमाण्डौबाट केही दिनका लागी लमजुङ घुम्न आएकी विष्णुमाया थापा छोटो समयमा लमजुङका पर्यटकिय गन्तब्य पुग्न नसके पनि झरनामा पुगेर आनन्द लिएको उनी बताउँछिन् । झरनामा सदरमुकाम बेसीशहर सहित उदिपुर, भोटेओडार, सुन्दरवजार लगायतका ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरु आउने गर्दछन् ।

बर्खामा टनाटन, हिउँदमा सुनसान
वर्षायाममा झरना हेर्न र रमाउन पुग्नेहरुको भिड लाग्छ । तर, हिउँदमा भने झरना सुनसान हुन्छ । हिउँदमा झरनामा पानी हुँदैन । तर, नजिकै बगेको मस्र्याङ्दीको पानीलाई मोटरले तानेर झरनाबाट झार्न सके बाह्रै महिना पर्यटकलाई झरनासम्म तान्न सकिन्छ । यस विषयमा नगरपालिकाले ठोस योजना ल्याउनु पर्ने खाँचो देखिन्छ । यसो गर्न सके नगरपालिकाको आम्दानी पनि बढ्न सक्ने सरोकारवाला बताउँछन् ।

ब्यवस्थापनको खाँचो
मध्यमस्र्याङदीको बाँधस्थल झरनाकै अगाडि पर्छ । मनोरम र शान्त वाताबरण छ । क्यानोनिङ गर्न, पौडी खेल्न र नुहाउनका लागि यूवायूवतिको लर्को लाग्ने गरेको सो ठाउँलाई ब्यवस्थि तगर्न सके लमजुङको पर्यटन प्रबद्र्धनमा यसले ठूलो सघाउ पु¥याउने लमजुङ टेलिभिजनका निर्देशक सिजन श्रेष्ठ बताउँछन् ।

अहिले लमजुङको उदीपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले झरना जाने बाटो मर्मत र पौडी पोखरी फराकिलो बनाइ दिएको छ । श्रीजङ गणका गणपती शिखर राणाले भने –“नेपाली सेनाकै पहलमा झरना लगायत वरपरका ठाउँहरु सरसफाई समेत गरिएको छ ।”

जिल्लामा पर्यटनको क्षेत्रमा सरकारी तथा गैरसकारी सँस्थाको लगानी बढ्दै गएपनि गाईखुरे झरनाको ब्यवस्थापनमा कसैले चासो नदिएको स्थानीयबासीहरुको गुनासो छ । थोरै मात्र लगानी गर्न सकिएपनि त्यसक्षेत्र पर्यटकको राम्रो गन्तब्य बन्न सक्ने लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापा बताउँछन् । थापाले भन्छन्– “निश्चित मापदण्ड बनाएर शुल्क लिनेगरी झरनाको व्यवस्थापनको जिम्मा नीजि क्षेत्रलाई दिनसके करोडौँ आम्दानी गर्न सकिन्छ ।”

लमजुङमा पर्यटकलाई आकर्षण गर्ने प्रशस्त झरना छन् । घेर्मुको बुंग छहरा, ताघ्रिङको च्याम्चे झरना, भुलभुलेको हामखोला झरना प्रमुख हुन् । हामखोला झरनामा केही दिन अघि फेस्टीभल नै मनाइएको छ । बिभिन्न ठाउँमा रहेका सुन्दर झरनाहरुको ब्यवस्थापन हुन सकेको छैन । नदीनाला, हिमाल र पहाड हेरेर आनन्द बटुल्दै आएका पर्यटहरुलाई क्यानोनिङ तर्फ पनि आकर्षण गर्न सके पर्यटकको आवागमनमा बृद्धि हुन सक्छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *