अाज जनै पूर्णिमाअर्थात रक्षाबन्धन मनाइँदै

बेसीशहर, साउन ३० गते ।

अाज रक्षाबन्धन अर्थात जनै पूर्णमा ।  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । अाजकाे दिन ऋषिहरूलाइ तर्पण दिइने हुनाले जनै पूर्णिमालाइ ऋषि तर्पणीकाे नामले पनि चिनिन्छ ।

अाजकाे दिन बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने चलन छ । यसरी गुरु पुरोहितबाट विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेकाे मानिन्छ । र याे हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहँदै अाएकाे छ ।

 

मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

यसै दिन ब्राहृमण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । हिन्दू धर्मावलम्बीहरू ऋषि मुनीकाे सन्तान मानिन्छन् । यस दिनमा ऋषिहरूलाइ तर्पण दिँदा अाफ्ना पुर्खाहरूलाइ समेत जाने हुँदा यसकाे अघिल्लाे दिनबाटै नुहाएर एक छाक खाइ ब्रत बस्ने र ऋषिहरूलाइ तर्पण  दिइ चाेखाे नीति गरी बस्ने चलन छ ।

यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएकाे हाे ।

जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने विश्वास रहँदै अाएकाे छ । क्वाँटी खानाले यसले बर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ ।

जनै पूर्णिमामा मासु खान हुँदैन तर हिजाे अाज अाधुनिकतासंगै जनै पूर्णिमामा मासु खाने चलन बढ्दाे छ। ऋषिहरूलाइ तर्पण दिएर चाेखाेनीताे गर्नु पर्ने भएकाले तामासी भाेजन नगर्न भनिएकाे हाे ।

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर याे चाड मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । हिजाे अाज पहाडतिर पनि राखीकाे प्रचलन बढ्दाे छ ।

जनै पूर्णिमामा लमजुङकाे दूधपाेखरी धाममा ठूलाे धार्मिक मेला लाग्छ । यहाँ गएर अाजकाे  दिन नुहाएर जनै लगाए माेक्ष प्राप्त हुने विश्वास छ । अाजकाे दिन गाेसाइकुण्ड लगायतका तीर्थहरूमा पनि भक्तजनकाे घुइँचाे लाग्छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *