दूधपाेखरीमा नुहाउन भक्तजनकाे भीड, कुण्डकाे संरक्षणमा स्थानीयकाे जाेड

बेसीशहर, साउन ३१ गते ।

जनै पूर्णिमाकाे अवसरमा लमजुङकाे प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विख्यात दूधपोखरी कुण्डमा नुहाउनेहरुको भिड लागेको छ । भगवान शिवजीकाे बासस्थानकाे रूपमा हिन्दू धर्मावलम्बीहरूकाे अास्थाकाे केन्द्र रहेकाे दूधपोखरी कुण्डमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासले थुप्रै तीर्थयात्रीहरु यस बर्ष पनि लमजुङकाे  दूधपोखरी कुण्ड नुहाउन पुगेका हुन् । बाैद्ध हिमालको काखमा रहेकाे याे कुण्ड पुग्न सदरमुकामबाट तीन दिन लाग्छ ।

लमजुङ, गाेरखा, तनहूँका बासीन्दाकाे धार्मिक अास्थाकाे केन्द्र यस कुण्डमा जनै पूर्णिमाकाे दिन गएर नुहाउनाले पाप पखालिने र माेक्ष प्राप्त हुने विश्वाले श्रद्धालु भक्तजनहरू यहाँ जाने गर्छन् । यहाँ नुहाए पछि काशीमा गएर नुहाएकै जतिकाे पुण्य मिल्ने विश्वस रहेकाे दूधपाेखरी गाउँपालिकाका प्रमुख छुपीमाया गुरूङले बताइन् ।

दूधपोखरी धाम लमजुङको मात्र नभइ देशकै पवित्र तीर्थस्थलको रुपमा प्रसिद्ध छ । यस कुण्डमा नुहाएर पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास  छ ।

दूधपोखरी कुण्ड समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्दछ । यसै पवित्र कुण्डकाे नामबाट गाउँपालिकाकाे नाम राखिएकाे छ ।

हिमालकाे काखमा रहेकाे याे कुण्ड मानववस्तीबाट निकै टाढा छ । बर्षमा एक दिन मात्र जनै पूर्णिमामा यहाँ मेला लाग्ने भएकाले   त्यहाँ पुग्ने बाटो स्पष्ट छैन । एक पटक गइसकेका र भेडीगाेठालाहरूकाे सहयाेग नलिने हाे भने यहाँ जाने बाटाे पत्ता लगाउन कठीन हुन्छ । चल्तीकाे बाटाे नभएकाले बाटाेकाे रेखा पहिल्याउन नसकिए समस्यामा परिन्छ । दूधपाेखरी पुग्न कठीन यात्रा तय गर्नु पर्छ । कहिले भीर, कहिले जंगल तथ कहिले खोरिया हुँदै यहाँकाे यात्रा गर्नु पर्छ ।

दूधपोखरी पुग्नका लागि लमजुङको प्रवेशद्वार पाउँदीबजारबाट तार्कुघाट, मोहोरियाकोट, प्यारजुङ, गौंडा, इलमपोखरी, जोर्ने हुँदै जान सकिन्छ । जाेर्नेसम्म माेटर चल्ने भए पनि त्यहाँबाट माथि लिपेलेक, बांगे ओडार, गैरीखर्क, धर्म गौंडो हुँदै दूधपाेखरी पुग्न सकिन्छ ।

दूधपोखरी पुग्न केही दूरी मात्र बाँकी रहँदा धर्म गौंडो भन्ने गाैंडाे आउँछ । निकै कठीन मानिने याे गौंडो धर्मात्माहरूमात्र कटेर अघि जान सक्छन् भन्ने किंवदन्ती छ । यसै अासपासबाट लेक लाग्न शुरू हुने भएकाले याे गाैंडाे कट्नेहरू दूधपाेखरी पुगरे अाउन सक्ने विश्वास गरिन्छ ।

दूधपाेखरी पुग्नका लागि गाेरखाबाट अर्काे बाटाे पनि छ । गाेरखाकाे १२ किलाे, छेपेटार,, भच्चेक हुँदै पनि दूधपाेखरी पुग्न सकिन्छ ।

दूधपोखरीको यात्रा कठीन छ । तर अनुपम प्राकृतिक छटाले यात्राकाे थकान बिर्सन्छन् यात्रीहरू ।  विभिन्न जातका लेकाली फूल, जडीबुटीजन्य बनस्पति, चरा चुरूंगी, जंगली जनावर र वनपैदावार दूधपोखरीको यात्राका क्रममा देख्न पाइने भएकाले यात्रा राेमाञ्चकारी हुन्छ ।

दूधपाेखरीकाे यात्रामा जाँदा बन्दाेवस्तीका सामान साथै लैजानु पर्छ । जाेर्ने गाउँ माथि मानव वस्ती छैन, त्यसैले खानेकुरा र पिउने पानीकाे जाेहाे यात्राकाे क्रममा अाफैले गर्नु पर्छ । टेण्ट, त्रिपाल तथा स्लिपिङ ब्यागकाे ब्यवस्था पनि साथमै भएकाे हुनुपर्छ । बास बस्नका लागि भेडीगाेठ तथा अाेडारहरूबाहेक अरू विकल्प त्यहाँ नभएकाे दूधपाेखरीका इश्वर भट्टराइले बताए ।

दूधपोखरीमा अहिलेसम्म यात्रुहरु बस्ने, थकाइ मार्ने धर्मशालाको ब्यवस्था हुन सकेकाे छैन । दूधपाेखरीकाे विकासका लागि गाउँपालिकाले याेजना बनाएकाे छ । तर याेजनाले सार्थकता पाउन समय लाग्ने गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरूङ बताउँछिन् ।

अहिले दूधपाेखरी कुण्डले संरक्षण खाेजीरहेकाे छ । हिमालकाे काखैमा रहेकाल यहाँ हिउँदमा हिउँ पर्छ । हिँउ पग्लदाँ हिउँसंगै माटाे पनि बहेर कुण्डमा अाउँदा कुण्डकाे गहिराइ घट्दाे छ । याे  पहिले निकै गहिरो थियोे । यही कुण्डकाे पानी बहेर चेपे नदी बग्छ ।  यही वरिपरि वैदिक कालमा च्यवन ऋषिले तपस्या गरेका विश्वास पनि गरिन्छ ।

दूधपोखरी अहिले संरक्षणकाे पर्खाइमा छ । धार्मिक र पर्यटकीय महत्व बाेकेकाे याे पाेखरी लमजुङकाे गहना हाे । यसकाे विकासका सरकारी तथा गैरसरकारी निकायले पर्यप्त ध्यान नदिएकाे गुनासाे स्थानीयकाे छ ।

 


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *