लमजुङमा राष्ट्रिय परिचय पत्र वितरण सम्वन्धि अन्तक्रिया 

बेसीशहर, साउन ३२ ।

लमजुङमा अागामी मंसिरबाट राष्ट्रिय परिचय पत्र वितरणकाे प्रक्रिया थालनी गरिने भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले लमजुङमा जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचय पत्र वितरणका लागि मंसिर महिनाबाट प्रक्रियागत कार्यको सुरुवात गरिने एक कार्यक्रम गरी जानाकारी गराएको हो ।

सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सुचना प्रणालीको माध्यमवाट गुणस्तरिय सार्वजनिक सेवा, शान्ति, सुरक्षा र सुशासन प्रर्वद्धन गर्न नागरिकता, जन्मदर्ता जस्ता सबै विवरण एउटै परिचय पत्रबाट हेर्न र बुझ्न पाउने गरी राष्ट्रिय परिचय पत्र वितरण शुरु गर्न लागेको हो । नागरिकको जैविक र बैयक्तिक विवरणको आधारमा वितरण गरिने परिचयपत्र १६ वर्ष उमेर पुरा भएका र नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिलाइ दिइने छ ।यसका लागि विभागले शुक्रवार जिल्ला सदरमुकाम वेसीशहरमा स्थानीय जनप्रतिनिधि, सरोकारवाला, कार्यालय प्रमुख र पत्रकारहरुसँग अन्तरक्रिया गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयको सभाहलमा भएको अन्तरक्रिया तथा अभिमुखिकरणमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य मायानाथ अधिकारीले आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र नागरिकको आधिकारीक पत्र भएको बताए । बैज्ञानिक तवरबाट यसको व्यवस्थापन र कार्यन्वयन गरि पारदर्शी बनाउने सन्र्दभमा अघि वढ्न जरुरी रहेको भन्दै प्रदेश सभा सदस्य अधिकारीले यर्थाथ विवरण संकलनतर्फ सचेत हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले पूर्ण प्रविधियुक्तराष्ट्रिय परिचयपत्र वितरण राष्ट्रिय गौरवको विषय भएको बताए । उनले अपराध अनुन्धान तथा शान्ति सुरक्षा व्यवस्थापनमा यसबाट सहज हुने बताए ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको वारेमा जानकारी दिदै राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले मानिसको आँखाको नानी, दश औंलाको छाप लगायत समेत समावेश गरेर डिजिटल परिचय पत्र वितरण गरिने बताए ।

राष्ट्रिय परिचयपत्र राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त वहुउपयोगि प्रमाणपत्र भएकाले यसबाट नागरिकलाई हरेक क्षेत्रमा सहजता हुनुका साथै समय, स्रोत साधनको व्यवस्थापन र सर्वाजनिक सेवा सँग सहज रुपमा आवद्ध हुन मदत पुग्ने विभागका निर्देशक न्यौपानेले बताए ।

देशका १६ वटा जिल्लामा याे परिचयपत्र वितरण कार्यक्रम सुरु भैसकेको छ । चालुआर्थिक वर्षमा थप बाँकी सबै ६१ जिल्लामा परिचयपत्र कार्यक्रम सुरु गरिने विभागले जनाएको छ ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *