मर्स्याङदी गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

भुलभुले ।

गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधा तथा विकास निर्माणका कार्यमा जनताको चासो बढाउन र गाउँपालिकाका गतिविधिबारे जानकारी गराउन मस्र्याङदी गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ ।
शनिबार भुलभुलेमा आयोजित कार्यक्रममा सहभागि स्थानीयले गाउँपालिकाका सेवाहरु थप प्रभावकारी बनाउन आग्रह गरेका छन् । उनीहरुले गाउँपालिकाले गर्ने हरेक क्रियाकलाप पारदर्शी हुनुपर्ने भन्दै गाउँपालिका जनताप्रति उत्तरदायी हुन आग्रह गरे ।
स्थानीयले गाउँपालिकाबाट सञ्चालन हुने विकासका योजनाहरु वडास्तरबाटै सम्झौता गराउने परिपाटीको विकास गर्न पनि आग्रह गरे । गाउँपालिका कार्यालयमै पुग्न भौगोलिक दूरीका कारण अप्ठेरो हुने भएकाले वडागत योजनाहरुको सम्झौता सम्बन्धित वडाबाटै हुन सके सजिलो हुने उनीहरुको भनाइ थियो ।
स्थानीयले मस्र्याङदी गाउँपालिका जलविद्युतको धनी भए पनि सोही क्षेत्रमा विद्युत आपूर्तिमा हुने अनियमितता रोक्न आवश्यक पहल गर्न गाउँपालिकालाई आग्रह गरेका थिए ।
यसबाहेक स्थानीयले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, महिला र युवा लक्षित कार्यक्रमका बारेमा जिज्ञाशा राखेका थिए ।
स्थानीयका प्रश्नका जवाफ गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर वि.क, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा तथा सम्बन्धित वडाका वडाध्यक्षहरुले जवाफ दिएका थिए।कार्यक्रममा स्थानीय महेन्द्रदेव माविका प्रअ सोमबहादुर भण्डारी, वडा नं. ३ का देवेन्द्र भण्डारी,वडा नं. ९ का रामबहादुर थापा लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।


कार्यक्रममा आएका गुनासा तथा प्रश्नहरुको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले कर्मचारी अभावका कारण गाउँपालिकाको कार्य सम्पादनमा केही समस्या देखिए पनि सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्न आवश्यक ब्यवस्था मिलाइएको भन्दै गाउँपालिकाका काम कारबाहीका सम्बन्धमा स्थानीयको सुझाव र सहयोग अपरिहार्य रहने बताए ।
उपाध्यक्ष होमबहादुर विश्वकर्माले सेवाग्राही जनताका गुनासा र सुझाव मार्गदर्शन हुने भन्दै रचनात्मक सुझाव र सल्लाहको स्वागत गरिने बताए । प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले गाउँपालिकाको प्रगति, उपलब्धी, खर्चका विषयमा सो अवसरमा जानकारी गराएका थिए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रुद्रमान गुरुङ, २ का अध्यक्ष चेतबहादुर गुरुङ, वडा नंं ३ का अध्यक्ष प्रेमबहादुर बस्नेत, ५ का अध्यक्ष लेखमान गुरुङ, ६ का अध्यक्ष लिलाप्रसाद घले, ७ का अध्यक्ष युवा घले, ८ का अध्यक्ष हिरादेवी घले, वडा नंं ९ का अध्यक्ष नारायण थापा, कार्यापालिका सदस्य डिलकुमारी थापा, चित्री तामाङलगायत सहभागी थिए ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *