रङ्ग मिल्ने चाहियो (टेबुलगफ)

–गाेविन्द बहादुर कुँवर

म एक पटक हिँडेर बेसीशहर जाँदै थिएँ। सायद बर्खा निख्रिएको थिएन र गाडी नचलेको अवस्था थियो होला।बेसीशहर जान मलाई तीन घण्टा लाग्त्यो। आउन जान गरेर छ घण्टा। विहानै छ,सात बजे नै भात खाएर गइन्त्यो,दिउँसो तीन चार घण्टा भुलिन्त्यो र वेलुका साँझ पर्दासम्म घर आइन्त्यो। भरसक बाहिर बास बसिन्नत्यो। उस्तै परेर काम भ्याइएन भने मात्र होटल लजमा बास बसिन्त्यो। त्यस्तोमा पनि भरसक नातापाता खोजेर पाहुना लाग्न गइन्त्यो।एक पन्थ दो काज। पैसा पनि जोगिने,भेटघाट पनि हुने।
भकुण्डेको तर्पाएँ उकालोमा पुगे पछि मैले एक जना अधबैँसे सज्जनलाई भेट्टाएँ। ती कम्मरमा हात राखेर मध्यम गतिमा हिँडिरहेका थिए। मैलेभन्दा उनले दस पन्ध्र भोटा बढी फटाका हुँदा हुन्। पछाडिबाट कोही आइरहेको आभास पाएर तिनले फर्केर हेरे। मलाई उनले चिनेका रहेछन्। “हाँसेर नमस्ते हेड सर”,भने। उतिबेला माध्यमिक विद्यालयहरु पातला थिए र टाढा टाढाका अभिभावले पनि प्रअलाई चिनेका हुन्ते। कुराकानी र सोधखोज गरे पछि मैले पनि उनलाई चिनेँ।
उनी एउटा गाउँको माध्यमिक विद्यालयको ब्यबस्थापन समितिको अध्यक्ष होकि सदस्य रहेछन्। अँग्रेजी, गणित कुन विषयको हो शिक्षक चाहिएको रहेछ। विषय शिक्षकको अभावमा पढाइ रोकिएकोले विद्यार्थीले हड्ताल गरेका रहेछन् र “एक हप्ता भित्र पानी मुनि गएर भए पनि म शिक्षक ल्याउँछु,तिमीहरु पढ”,भनेर उनी शिक्षक खोज्न निस्केका रहेछन्।
उनले मसँग पनि ,“कता को पाइएला यो हप्ता भित्र जसरी पनि शिक्षक लिएर जान सकिन भने मलाई भुराभुरीले मार्चन् ल्हे”,भने। उनको बोलाइ रसिलो रहेछ। उनले बोेले पछि हाँस्न मन लाउने रहेछ। रानीकुवा पुग्दासम्म त हामी चीरपरिचित साथीजस्ता भै सकेका थियौँ। मलाई बाटो काटेको पत्तै भएन।
मजुवा खोलो तर्दासम्म मैले संझी संझी तीन चार ओटा संभावित विकल्पहरु सूझाएँ आफूसँग भएको जानकारीका आधारमा। “यत्रो मान्छे पार मत्र भएन,रङ्ग पनि मिल्नु परो”, भन्दै उनी हाँसे। म झन् नहाँस्ने कुरै भएन।
उनको रङ्ग मिलाउने प्रसङ्गले मैले आफू सानो छँदाका कुराहरु संझे । उतिखेर घरैजसो हल गोरु पालिन्ते । खेतबारी पनि थोरै जन पनि कम हुने दुई घरले एक एक गोरु पाल्थे परेली गरेर। धेरै खेतपाखो धेरै जन भको ठूलो परिवार छ भने दुई हल गोरु पनि पाल्ते र त्यस्तो घर परिवारको गाउँघरमा छुट्टै पहिचान हुन्त्यो।
असारमा विहान आठ नौ बजे तिर जुन बाटोमा पनि ह ह भन्दै हलिबाहरुले गोरु धपाएको देखिन्त्यो । गोरुले हान्चन् भनेर पाखा लाग्नु पत्र्याे। हिँड्ने बाटो पाइन्नत्यो।
अनि,फुर्सत् भएर दुई तीन जना भेट भएसी गोरुकै चर्चा सुरु हुन्त्यो। कसका गोरुका हल सिङकान मिलेका छन्,भैँसे छन्, एकै रङ्गी छन् अर्थात् रङ्ग मिलेका छन्, कसका गोरुका मुण्टा ठाडा वा घोसे छन् ,कसका गोरु साउदा फाल हालेर कुद्चन्, कसका हल गोरु छिटा या ढिला छन्, कसका गोरुका घाँटीमा धुँधरु बाँधेको छ,कसका गोरु विहान भकारोमा फुकाए पछि सरासर त्यो दिनको मेलामा पुग्चन् यस्ता अनेक टीका टिप्पणीहरु सुरु हुन्ते।
गोरु पाल्नका सौकिनहरु गोरु किन्न जाँदा गोरुको उचाइ नाप्न निगालाको लौरो लिएर जान्ते र घरको गोरुको उचाइ जतिको छ ,तेत्रै जोडी नपाएसम्म खोज जारी रहन्त्यो। उचाइ मात्र पुगेर हुन्नत्यो। सिङकान र रङ्ग पनि मिल्न पथ्र्यो । दाहिने देब्रे त्यसै मिलाउन परिगो। घरको दाहिने भए देब्रे र देब्रे भए दाहिने चाहिन्त्यो, अहिले पनि चाहिन्च।
सबभन्दा गार्हाे काम भनेको रङ्ग मिलाउन हुन्त्यो। घरको गोरु गजुवा, काफ्ले, तारे, चम्रे ,निखुर कालो या सेतो ,खैरो ,झालेमाले,पाङ्ग्रे जस्तो छ,तस्तै खोज्नु पत्र्याे ।
जसले यसरी रङ्ग मिलाएर गोरु पाल्त्यो ऊ गामघरमा मात्र हैन अलि परका गाममा पनि उसको बइन चल्त्यो। यसरी धेरै बर्ष चर्चा पाउनेमा कुन्छा तिरका एक जना किसान थिए। उनको नाम अर्कै हुँदोहो, तर उनी उनको “गुन्द्रुके” उपनामले चिनिएका थिए। सायद उनको कपाल गुन्द्रुकजस्तो थियो र उनलाई त्यसो भनिएको थियो कि। उनले सिङकान र रङ्ग मिलेका गोरु पाल्चन्। ती उनको विशेष स्याहारका कारण चिल्ला, मोटा र राम्रा हुन्चन्। उनले गोरुलाई तेल पनि लाउँचन् रे। ती ठाडो मुण्टो गरेर छिटो जोत्चन् रे। हिलो साउदा ती फाल हानेर कुद्चन् रे अनि ठूलो खले गरामा हिलो साउदा गुन्द्रुकेले गोरु कुदाउँचन् र पल्लो छेउमा, आँठामा पुग्ने वेला उनले गोरु फटक्क नाघेर गोरुको अगाडि ठिङ्ग उभिन्चन् रे र गोरु टक्क अडिन्चन् रे भनेको सुन्दा हामी रोमान्चित हुन्थ्यौँ।
जेठमा बाँझो जोत्न थाले पछि खेत रोपेर नसकिएसम्म गोरुलाई कोदोको बाक्लो फाँडो पकाएर खुवाइन्त्यो। कसैले काँचो तेलमा कुखुराका फुल फेटेर पनि ढुङ्रोमा राखेर खुवाउँते। राम्रो मसिनो घाँस छानेर गोरुलाई हालिन्त्यो। गोरुले नखाएर फालेको घाँस भैँसीलाई हालिन्त्यो।
रोपाईँमा गोरुले खाने खाजा घाँस राम्रो भएन भने हलीबाहरु रिसाउँते र कसैले त खाजै खाइदिदैनते। अनि घरका छोरी बुहारीले कडा खप्की खानु पत्र्यो । कडा नसियत सहित।
साउन लागे पछि प्राय खेत रोपेर सकिन्त्यो। गोरुको मुख्य काम पनि सकिन्त्यो।
पालाको पैँचो भनेजस्तो अब भैँसीले खाएर फालेको घाँस गोरुलाई हालिन्त्यो।
अब भैँसीको चर्चा सुरु हुन्त्यो। साउन लाग्दासम्म कसैले चिनी हालेर र धेरैले नहाली खस्रे बेउती खाइसकेका हुन्ते। मकैको भुत्लामा बेउती राखेर ओल्लो पल्लो घरमा बाँडिसकेका हुन्ते। ढाड दुखेको निको हुन्च भनेर खाइन्त्यो। खदायोको पातमा सात पोके दलिनमा सिउरी सकेका हुन्ते। कसैले चोख्याएर पैलोे बेते भैँसी घिउ लाउने नलाउने कस्तो परेच छ्यानपैचान गरिसकेका हुन्ते। अब मकैको बाक्लो कुँढो र मसिनो नरम घाँस खाने पालो भैँसीको हुन्त्यो। ती कुनै ब्याइसकेका र कुनै भरे भोलि भएका हुन्ते। हुनेखानेका घरमा लैना बकेर्ना भैंसी टुट्दैनते। ओडापैरी, नूनतेल बाली, सेमातिरो लगायतका घरखर्च धान्न बर्षमा दुईचार ओटा साआ जाने थोरे पालिन्त्यो र ती प्राय साउन भदौ तिर ब्याउँते। अनि तिन्लाई बेचेर पैसा पोको पारेर सन्दुकमा राखिन्त्यो ।
अब गफको सिलसिला भैंसी तिर मोडिन्त्यो। कसको भैँसीले कति माना दूध दियो, कसको भैँसीको घिउ पालामा कति लाग्यो, कसले कति धेरै पैसा हालेर भैंसी बेच्योे या किन्यो चासो र चर्चाको विषय हुन्त्यो। सबैले आफ्ना भैँसीको बखान गर्तेे। पूर्वी लमजुङ तिर कसैले आफ्नो भैँसीको दूध कति छ भनेर सोधेमा “दूतमा त चेपे नै होनि“ र घिउ सोधेमा “हिउँचुली नै होनि घिउमा त” भन्चन् रे भनेर बूढापाका हाँसो गरेको हामी सुन्त्यौँ।
हाम्रा एक जना काका जति पटक भैंसी किनेर ल्याए पनि त्यसको नाम घ्वाइँ राख्ते। घ्वाइँ भनेको उनको अर्थमा धेरै दूध दिने थियो। उनी भैँसीको गोबर भैँमा खस्न दिन्थेनन् हात थापेर फाल्थे। भकारो उत्तिकै सफा राख्ते। उतिबेला गोरु भैसीका पनि अनेक लक्षणहरु बिचार गरेर किन्ने र मूल्य निर्धारण हुन्त्यो।
बेसीशहर पुगे पछि हामी छुट्टियौँ। उनले रङ्ग मिल्ने शिक्षक भनेकै समयमा पाएकि पाएनन्, थाभएन। ती सज्जनसँग पछिसम्म पनि भेट हुँदा हाँस्ने जिस्किने सिलसिला चलिरह्यो ।
त्यतिखेर जहाँ जसको बोलबाला छ, त्यँहा त्यसले त्यसरी नै रङ्ग मिलाएर शिक्षक राख्ने चलन थियो र त्यो परंपराले आजसम्म पनि निरन्तरता पाएकै छ र यो प्रवृत्ति शिक्षामा मात्र नभएर प्रशासन, न्यायपालिका सबै तिर झ्याङ्गिैदैछ । यसबाट अछुतो रहने पात्र र क्षेत्र विरलैे पाउन सकिएला।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *