रुदीखोला जलविद्युत आयोजना ए काे ब्यवसायीक उत्पादन शुरु

बेसीशहर, चैत्र ८ गते ।

लमजुङ र कास्कीबीच बहने रुदी खोलामा निर्माण गरिएको ८.८ मेगावाट क्षमताको रुदीखोला जलविद्युत आयोजना ए ले ब्यवसायीक उत्पादन शुरु गरेको छ ।
रुदी आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएसंगै राष्ट्रिय प्रसारणमा तत्कालै ४ मेगावाट विद्युत थप भएको छ । सुख्खा मौसम भएका कारण खोलामा पानीको बहाव कम हुँदा आयोजनाले आधा क्षमतामा मात्र उत्पादन दिइरहेको छ । बर्षातमा भने पुरै क्षमतामा उत्पादन हुने अयोजना प्रमुख सरोज भट्टराइले जानकारी दिए ।

आयोजनाले गत असोजमा निर्माण कार्य सम्पन्न गरेको हो । निर्माण कार्य सम्पन्न भए पनि परीक्षण, ट्रान्समिसन लाइन निर्माण लगायत विविध कारणले गरी ६ महिनापछि मात्र विद्युत विक्री शुरु भएको आयोजनाले जनाएको छ ।

आयोजनाले विद्युतगृहदेखि झण्डै ४ किलोमिटर दुरीको ट्रान्समिसन लाइन आफै निर्माण गरी कास्कीको मुंग्रीबेसीमा रहेको प्राधिकरणको सबस्टेशनमार्फत उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा पठाएको हो ।

आयोजनाले फेबु्रअरी १० २०१३ मा विद्युत खरिद विक्रीसम्बन्धी सम्झौता (पिपिए) गरिसकेको हो । जस अनुसार सो आयोजनाले नेपाल विद्युत प्राधिकरणसंग प्रति युनिट हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्षातमा ४ रुपैयाँ ८० पैसा पाउने छ । आयोजनाबाट वार्षिक ४७ गिगावाट अवार विद्युत् उत्पादन हुने छ ।

लमजुङको क्व्होंलासौथर गाउँपालिका वडा नं. ५ सिङ्दीबेसी र कास्कीको मादी गाउँपालिका वडा नं. ८ मा आयोजनाले रुदी खोलामा बाध बनाई ६ किलोमिटर लामो पेनस्टक पाइपमार्फत मादी गाउँपालिकाको वडा नं. ९ बालुवाबेसीमा निर्मित विद्युत गृहमा पानी खसालिएको छ । विद्युत गृहमा ४ दशमलव ४ मेगावाटका २ वटा पेल्टन टर्बाइन जडान गरिएको छ ।

१ अर्ब ६० करोड रुपैयाँको लागतमा निर्माण भएको यो आयोजनाको मुख्य प्रबद्र्धक विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी हो । कम्पनीले ३० प्रतिशत लगानी गरेको छ । बाँकी ७० प्रतिशत लगानी सानिमा विकास बैंक लगायतका विभिन्न वित्तिय संस्थाहरुले गरेका छन् ।


कुनै सुझाव वा टिप्पणी

Your email address will not be published. Required fields are marked *